कास्की उपचुनाव कांग्रेसले जिते सभापति देउवाकाे कार्यकाल बढाउन सकिन्छ : नेता भण्डारी

 साउन १३, २०७६ सोमबार १४:२०:२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही -  कास्कीको उपचुनाव कांग्रेसले जिते सभापति शेरबहादुर देउवाको कार्यकाल लम्बाउन सकिने नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले बताउनु भएको छ ।

रिर्पोटर्स क्लब पाँच नम्बर प्रदेशले सोमबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सम्भवत: मंसिरमा हुने उपचुनावले कांग्रेसले जिते सभापति देउवाको कार्यकाल लम्बाउन सकिने र नजिते आफै छोड्नु पर्ने बताउनु भएको हो । 'दूध नदिने गाई भैँसीलाई कहिलेसम्म पालिरहने' भन्दै उहाँले समयमा महाधिवेशन गरेर कांग्रेसलाई नयाँ उर्जा र आकर्षणसहित नागरिकका बीचमा लिएर जानुपर्ने बताउनुभयो ।

उहाँले ओली सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउँदै वाइडबडी जहाज, ललिता निवास, बुढीगण्डकी यसका उदाहरण भएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, 'भ्रष्टाचारका कारण पूर्व कर्मचारीहरुले आत्महत्या गरेका छन् अब भ्रष्टाचारी नेताहरुले आत्महत्या गर्ने पालो आएको छ ।'

नेकपाका सांसद रवीन्द्र अधिकारीकाे निधनपछि कास्की निर्वाचन क्षेत्र नम्बर २ जनप्रतिनिधिविहीन रहेकाे छ । अधिकारीले नेपाली कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले हराउनु भएकाे थियाे । अधिकारीले २७ हजार २ सय ७ मत ल्याउँदा चालिसे १८ हजार ६ सय ६१ मत ल्याउनु भएकाे थियाे । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया