भर्खरै पिच गरिएको सडक वर्षाका कारण भासियाे

 साउन १६, २०७६ बिहिबार १४:५१:२७ | हेमराज शर्मा
unn.prixa.net

दाङ - निर्माणाधीन लमही-कोइलाबास सडकको जंगल क्षेत्रमा भर्खरै पिच गरिएको सडक चिराचिरा परेर फाटेको छ ।

केहि दिन पहिलेको वर्षाले हुलाकी मार्ग अन्तरगत भर्खरै निर्माण भएको पिच फाटेर सडक नै धस्सिएको हो । पहाडी क्षेत्रको साँघुरो बाटोलाई माटो भरेर निर्माण गरिएकाले दबेर यस्तो भएको निर्माण व्यवसायीको भनाइ छ । लमही-कोइलाबास सडकको कालोपत्रे गरिएको १४ किलोमिटरमध्ये जंगल क्षेत्रमा पर्ने ठूलीचौर बाट कोठरीसम्मको झण्डै चार किलोमिटरको विभिन्न भाग चिरा परेको हो ।

सडकको साँघुरो नाली पानीसँगै झरेकाे, ढुँगा तथा पात पतिंगरले  पानी जमेपछि सडकबाटै बग्दा सडक भत्किएको निर्माण कम्पनी कुमार कालिका जेभिका प्रतिनिधि मुकेशकुमार शाहले बताउनु भयो ।

भारतीय प्राविधिकको प्रत्यक्ष निगरानीमा नेपाली निर्माण व्यवसायीबाट निर्माण भैरहेको यो सडक पहिलेकाे राप्ती अञ्चलको प्रवेशद्वारका रुपमा चिनिने कोइलाबास नाका जोड्ने सडक हो । ३३ किलोमिटर लामो यो सडक ७६ करोड रुपैयाँको लागतमा दुई वर्षदेखि  निर्माण भइरहेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया