सुन प्रकरणमा उच्च अदालतकै आदेश सदर

 साउन १८, २०७६ शनिबार ७:२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सर्वोच्च अदालतले सङ्गठित सुन तस्करी अभियोग तथा सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले गरेको आदेश सदर गरेको छ । उच्च अदालतले थुनामा पठाएका महावीर गोल्यानलाई भने सर्वोच्चले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले उच्च अदालतले गरेको आदेश सदर गरेको हो । सुन प्रकरणको मुद्दा भने जिल्ला अदालतमा नै विचाराधीन छ ।

थुनछेक आदेश प्रकरणमा उच्च अदालत विराटनगरका आठ जना न्यायाधीशमाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अध्यक्ष रहेको न्याय परिषद्ले पाँच महिनाभन्दा लामो समय छानबिन गरेको थियो । परिषद्ले छानबिनपछि न्यायाधीश बदनियतपूर्वक कार्यसम्पादन गरेको आरोपमा न्यायाधीश उमेश सिंहलाई सेवाबाट बर्खास्त गर्ने तथा न्यायाधीशद्वय थीरबहादुर कार्की र साधुराम सापकोटालाई दुई वर्ष बढुवा रोक्का गर्ने निर्णय गरेको थियो । 

न्यायाधीशलाई सेवाबाट अवकाश र बढुवा रोक्का गरिए पनि सर्वोच्चले आदेश भने उच्च अदालतकै सदर गरेको हो ।

शुक्रबार सर्वोच्चले दिएको आदेशअनुसार अभियुक्त सञ्जय राउत थुनामै रहने छन् । यस्तै तालुराम थारूले पनि थुनामै रहेर मुद्दाको बाँकी प्रक्रियामा सहभागी हुनुपर्ने छ । उच्च अदालतले थुनामुक्त गर्न आदेश दिएका गोविन्द निरौलाको हकमा त्यही आदेश सदर भएको छ । विकासराज खनाललाई साधारण तारेखमा रिहा गर्ने उच्च अदालतको सर्वाेच्चले सदर गरेको छ । अभियुक्त राजन थापा पनि थुना बाहिर रहेरै मुद्दाको बाँकी प्रक्रियामा सहभागी हुन पाउनेछन् । सर्वाच्चले अभियुक्त हेमन्त गौतमलाई थुनामै राखेर मुद्दाको कारबाही अगाडि बढाउन उच्च अदालतले गरेको आदेशलाई सर्वाेच्चले निरन्तरता दिएको छ । सम्बीरप्रसाद तोलाङ्गे पनि थुनामै रहनु पर्नेछ ।

आदेश अनुसार मदन सिलवाल र प्रभात अग्रवाल धरौटीमा नै रहनु पर्नेछ । दुवै जना जनही पाँच लाख रुपियाँ धरौटीमा रिहा भएका थिए । बालकृष्ण श्रेष्ठ र गोपालकुमार श्रेष्ठलाई थुनामै राख्ने उच्चको आदेश सदर भएको छ । मदनप्रसाद घिमिरे र राजकुमार दारुकालाई १० लाख धरौटीमा रिहा गर्ने उच्चको आदेश सर्वोच्चले सदर गरेको छ । 

यस्तै नेपाल प्रहरीका तीन उच्च अधिकारी दिवेश लोहनी, प्रतीत केसी र बालकृष्ण सञ्जेललाई साधारण तारेखमा रिहा गर्ने उच्चको आदेश सर्वोच्चले सदर गरेको छ ।

यस्तै अमरमान डङ्गोल र लाक्पा शेर्पालाई थुनामै राख्ने उच्चकै आदेश सदर भएको छ । अभियुक्त श्यामबहादुर खत्री पनि थुनामै रहेर मुद्दाको बाँकी प्रक्रियामा सहभागी हुनुपर्नेछ ।

राजेन्द्रकुमार शाक्य, विमल पोदार र इतियाज उद्दिनलाई जनही १० लाख रुपियाँ धरौटीमा रिहा गर्ने उच्चको आदेश पनि सर्वोच्चबाट सदर भएको छ । रेवतकुमार आचार्यलाई एक लाख २१ हजार रुपियाँ धरौटीमा रिहा गर्ने उच्चको आदेश पनि सदर भएको छ । यस्तै, सर्वोच्चले विनोद अधिकारी, मोतीराम श्रेष्ठ, बालकृष्ण खड्का, ठाकुर ढुङ्गानालाई जनही एक लाख धरौटीमा रिहा गर्ने उच्चकै आदेश सदर गरेको छ ।

सैयद अकबरलाई १० लाख धरौटीमा रिहा गर्ने उच्चको आदेश सर्वोच्चले सदर गरेको छ । अभियुक्तहरू राजु महर्जन, छिरिङ वाङ्गेल, भुजुङ गुरुङ, दोराम खत्री, कपिलराज पुरी र वीरेन्द्रमान श्रेष्ठलाई थुनामै राख्ने उच्च अदालतको आदेश पनि सर्वोच्चले सदर गरेको छ । सुनकाण्डको मुद्दा भने जिल्ला अदालत मोरङमा विचाराधीन छ ।

साढे ३३ किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङले २९ जनालाई पुर्पक्षका लागि थुनामा राख्न २०७५ जेठ ८ गते आदेश दिएको थियो । त्यसबेला प्रहरी नियन्त्रणमा रहेका ३१ मध्ये एक जना साधारण तारेखमा र अर्का एक जना धरौटीमा रिहा भएका थिए ।

मुद्दा दर्ता भएको २१ दिनपछि न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय सञ्जय राउत र प्रजित केसी तथा सई बालकृष्ण सन्जेललाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो । 

विमानस्थल कर्मचारी लालबहादुर मगर, हेमन्त गौतम, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोराम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजु महर्जन, राजन थापा, अमर डंगोल, तुलाराम थारू, व्यापारी महावीर गोल्यान, राजेन्द्रमान शाक्य र भुजुङ गुरुङलाई पनि पुर्पक्षका लागि थुनामा पठाइएको थियो । शाक्य हत्याका प्रतिवादी मोहन काफ्ले, टेकराज मल्ल ठकुरी, नरेन्द्र कार्की, लाक्पा शेर्पा, मोहन घिमिरे र राजन कुमारलाई पनि अदालतले थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको थियो ।

अन्तिम अपडेट: चैत १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया