उपयुक्त कारण नदेखाइ कर्मचारीहरुलाई अध्ययन बिदा नदिने मन्त्री पण्डितकाे भनाइ

 साउन २१, २०७६ मंगलबार १६:६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उचित कारण नदेखाई कर्मचारीहरुलाई अध्ययन बिदा नदिने स्पष्ट पार्नुभएको छ । 

मन्त्री पण्डितले अध्ययन बिदाका लागि बाहिर गएका कर्मचारीहरुले त्यहाँ गएर जागिर खाने गरेको पाइएको उल्लेख गर्दै उचित कारण पेश गरेपछि मात्रै कर्मचारीहरुलाई विदेशमा अध्ययन गर्न जान दिने प्रष्टयाउनु भएको हो । मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्रालयले उचित ठानेपछि मात्रै कर्मचारीहरुलाई विदेशमा अध्ययनका लागि बिदा दिन सकिने उहाँको भनाइ थियो ।

समितिको बैठकमा ‘संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री पण्डितले आफू अघिल्लो पटक मन्त्री हुँदा अमेरिका अध्ययन गर्न गएका एक कर्मचारीले अध्ययन नगरेको पाइएपछि सेवाबाटै हटाएको पनि स्मरण गराउनु भयो ।

मन्त्री पण्डितले कर्मचारीहरुले कार्यालय समयमा निजी प्रयोजनका लागि कार्यालयको टेलिफोन प्रयोग गर्न नदिने अडान पनि राख्नु भयो । कार्यालय समयमा निजी मामिलामा फोनको दुरुपयोग कर्मचारीहरुले गर्ने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने पनि मन्त्री पण्डितले बताउनु भयो । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया