तत्कालीन नारायणहिटी राजदरबारमा रहेका महत्वपूर्ण दस्ताबेज कहाँ छन् ?

 साउन २१, २०७६ मंगलबार १७:३२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - संसदीय समितिले तत्कालीन नारायणहिटी राजदरबारको महत्वपूर्ण दस्ताबेजहरुको खोजी कार्य सुरु गरेको छ । 

राष्ट्रिय महत्वको दस्तावेजको अभिलेख राख्ने दायित्व पाएको संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले तत्कालीन राजाहरुले नारायणहिटी दरबारमा राखेका महत्वपूर्ण दस्ताबेजहरुको खोजी कार्यलाई अघि बढाएको हो । यसै अभियानअन्तर्गत समितिले सरकारलाई त्याे दस्तावेज कहाँ छ ? त्यसको विवरण उपलब्ध गराउन पत्राचार गरेपछि सरकारले त्यस पत्रको जवाफसमेत दिन सकेको छैन ।

मंगलबार समितिको बैठकमा उपस्थिति हुनु भएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि ती सबै दस्ताबेज सरकार कहाँ आए/नआएको यकिन नभएको जवाफ दिनुभयो । उहाँले त्याे दस्तावेज पूर्व राजा ज्ञानेन्द्र शाहसँगै गयो कि भनि आशंका पनि गर्नुभयो ।

‘त्यतिबेला सबै राष्ट्रिय महत्वका दस्ताबेज दरबारमा केन्द्रित थिए,’ मन्त्री ज्ञवालीको भनाइ थियो, ‘ती सबै यता आए कि आएनन् यकिनका साथ भन्न सकिने अवस्था छैन, जे–जे दस्तावेज थिए भन्ने हामीलाई सूचना छ । तिनीहरुको खोजी गर्ने क्रममा के–के छुटे बुझ्न सकिन्छ । सबै हस्तान्तरण नभएको बुझेका छौँ, पूर्व ज्ञानेन्द्र राजा शाहसँगै गयो कि ?’ मन्त्री ज्ञवालीले समितिको बैठकमा आफैमाथि प्रश्न पनि गर्नुभयो, ‘ नारायणहिटी दरबारमा महत्वपूर्ण दस्ताबेज त्यहीँ बाँकी छ वा कुनै ढंगले नष्ट भयो ? त्यसको बारेमा यकिन ढंगले भन्न सकिने अवस्था छैन ।’

बैठकमा समितिका  सभापति रामनारायण बिडारीले सुगौली सन्धि यताका नेपालको नक्सा, राष्ट्रिय महत्वको अभिलेख र नेपालले गरेका अन्तर्राष्ट्रिय सन्धि सम्झौताको विवरण उपलब्ध गराउन सरकारलाई पत्राचार गरिए पनि जवाफ नआएको बताउनु भएको थियो ।

समितिका सदस्य राधेश्याम अधिकारीले नारायणहिटी राजदरबारका महत्वपूर्ण दस्ताबेज कहाँ छन् भनी मन्त्री ज्ञवालीलाई प्रश्न गर्नु भएको थियो ।

मन्त्री ज्ञवालीले तत्कालीन नारायणहिटी दरबारको कतिपय दस्तावेज भने राष्ट्रिय अभिलेखालयमा आएको र त्यसलाई व्यवस्थित बनाएपछि समितिले पेश गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया