रहिनन् नोबेल विजेता साहित्यकार टोनी मोरिसन

 साउन २१, २०७६ मंगलबार १९:५२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

चर्चित उपन्यासकार टोनी मोरिसनको निधन भएको छ । समाचार एजेन्सी एपीका अनुसार सोमबार राति ८८ वर्षको उमेरमा मोरिसनको निधन भएको हो ।

लामाे समयसम्म अफ्रिकी अमेरिकीहरुका पक्षमा आवाज उठाउँदै आएकी माेरिसनकाे न्यूयाेर्कमा निधन भएकाे हाे । 

आवाजविहीनकी आवाज : टोनी मोरिसन 

एन्तोनियो ग्राम्सीले ‘द मोडर्न प्रिन्स’ र ‘द प्रिजन नोटबुक्स’मा सबाल्टर्नको परिभाषा दिएका छन् । उनका अनुसार सबाल्टर्न वा सीमान्तकृत समुदाय ती हुन्, जो सत्ता र शक्तिकेन्द्रमा अर्थपूर्ण भूमिकाबाट बञ्चित वा बहिष्कृत हुन्छन् । ग्राम्सी भन्छन्, “सीमान्तकृत नागरिकका पक्षमा आवाज उठाउने र प्रभावकारी राजनीतिक कार्यक्रमका लागि बौद्धिक वर्गले सहयोगी भूमिका खेल्नुपर्छ ।

को सबाल्टर्न हुन्, को हाइनन् भन्ने बारेमा गायत्री चक्रवर्ती स्पिभाकको ग्राम्सीसँग फरक मत रहे पनि उनले सीमान्तकृत समुदाय आफै आवाज उठाउन नसक्ने भएकाले उनीहरूको आवाज उठाइदिनुपर्ने मत राख्छिन् ।

त्यस्तै अफ्रिकन अमेरिकीहरूप्रति हुने रंगभेदी व्यवहार र अन्यायको विरुद्ध सशक्त आवाज उठाउने अफ्रिकन अमेरिकी लेखक हुन् टोनी मोरिसन । अश्वेत अमेरिकीहरूले भोगेका विभेद र अन्याय उनका प्रमुख विषयवस्तु हुन् ।

सन १९७० मा प्रकाशित ‘द ब्लुएस्ट आई’ उनको पहिलो उपन्यास हो । उनले पहिलो कृतिबाटै प्रसिद्धि कमाउन सफल भइन्, भलै व्यावसायिक रूपमा सफल भएन । समीक्षकहरूले प्रशस्तै शब्द खर्चिए यो कृतिको पक्षमा । उपन्यासमा एउटी अश्वेत युवतीको सुन्दरताप्रतिको दृष्टिकोणलाई प्रस्तुत गरेकी छन् । उपन्यासकी मुख्य पात्र पेकोला आफ्नो छाला गोरो भइदिएको भए दुःख नपाउने भनाइ व्यक्त गर्छिन् । दिनहुँ रक्सी खाएर आफ्नी आमासँग झगडा गर्ने बाबुको व्यवहारले उनलाई दुःखी बनाउँछ । विद्यालयमा उनलाई काली भएकै कारण गोरा केटाहरूले जिस्काउँछन् । त्यसैले ऊनी आफ्न नीला आँखाको कल्पना गर्छिन् ।

पेकोलाले सुन्दरतालाई सेतोपनसँग तुलना गरेकी छन् । उपन्यासमा कोल्ली र डारलेनको जोडीले पनि अश्वेत भएकै कारण अपमानित हुनु परेको कुरालाई मोरिसनले बडो मार्मिक रूपमा प्रस्तुत गरेकी छन् । ‘न्यूयोर्क टाइम्स’ले उपन्यासका बारेमा लेख्छ, “यति दुःख, आश्चर्य र बर्बरतापूर्ण कहानीले भरिएको छ कि उपन्यास कविता भएको छ ।”

त्यसो त मोरिसन सरल र बोलीचालीको भाषा प्रयोग गर्छिन् । अफ्रिकन लवज र अफ्रिकन पात्रहरूले भरिएका हुन्छन् उनका कृतिहरू । उनलाई कतिपय समीक्षकले अफ्रिकन अमेरिकीहरूका विषयमा मात्रै कलम चलाउने भनेर आरोप लगाएका छन् । तर, उनी त्यसको प्रतिवाद गर्दै भन्थिन्, “जेम्स जोयसले आयरल्यान्ड र आइरिस जनताका बारेमा मात्रै लेख्दा प्रश्न उठ्दैन, दोस्तोएभ्स्कीले रसिया र रसियनका बारेमा मात्र लेख्दा कसैलाई आपत्ति हुँदैन तर मैले अफ्रिकी अमेरिकीका बारेमा लेख्दा किन टाउको दुख्छ ?”

धेरै अफ्रिकी अमेरिकीहरू अमेरिकी संस्कृति र रहनसहनबाट आफूलाई अलग पाउँछन् । आफ्नो पुस्तैनी संस्कृतिप्रति उनीहरु भावनात्मक रूपले जोडिएका हुन्छन् । त्यसैले शरीर अमेरिकामा भए पनि उनीहरूको मन अफ्रिकामा हुन्छ । एक त अमेरिकी मूलधारमा आफूहरूको पहिचानको संकट, अर्कोतिर श्वेतहरूबाट गरिने अत्याचारका विरुद्ध टोनी मोरिसन मात्रै होइन, थुप्रै लेखक उत्रिए ।

असमानता र अन्यायविरुद्ध आवाज उठाउने अफ्रिकी लेखकहरूमा रिचर्ड राइट, जेम्स बाल्डविन, एडोरा वेल्टी, जोरा निल हर्टसन केही प्रतिनिधि लेखक हुन्, जसले रंगभेदविरुद्ध कलम चलाए, अफ्रिकी संस्कृति संरक्षणमा आफूलाई समर्पण गरे । बाल्डविनको ‘नोबडी नोज् माई नेम’ र राइटको ‘नेटिभ सन’ अमेरिकामा अश्वेतहरूलाई विभिन्न ठाँउमा गरिएका भेदभाव र अत्याचारका विषयमा नै लेखिएका चर्चित पुस्तक हुन् ।

टोनी मोरिसन आफै पनि त्यस्ता भेदभाव र अन्यायका प्रत्यक्षदर्शी हुन् । आफ्ना बाबुले गोराहरूबाट भोगेको पीडाका कारण पनि उनले समाजमा व्याप्त असमानतालाई नजिकबाट नियाल्ने मौका पाइन् । ‘गार्जियन’लाई दिएको एक अन्तर्वार्तामा उनले भनेकी छन्, “बुवाले कहिल्यै पनि गोराहरूलाई विश्वास गर्नुभएन, तिनीहरूलाई आफ्नो घरमा कहिल्यै प्रवेश गर्न पनि दिनुभएन तर यस मानेमा भने मेरी आमा उदार हुनुहुन्थ्यो ।”

मोरिसनले ‘द ब्लुएस्ट आई’को प्राक्कथनमै भनेकी छन्, “को होला त्यस्तो, जसलाई मन नपराइँदा र बहिष्कृत हँुदाको अनुभव थाहा नभएको होस् । शायद त्यस्ता अनुभवहरू फरक–फरक होलान् तर त्यसले सबैलाई पीडा दिन्छ ।” उनले भनेझैं कालै भएकाले समाजमा मन नपराइएका र शोषणमा परेका अफ्रिकी अमेरिकीहरूका कथा प्रस्तुत गरेकी छन् ।

सुन्दरताका विषयमा पनि मोरिसनको आफ्नै धारणा थियो । सुन्दरता हेर्नेको आँखामा भर पर्छ भन्ने भनाइको ठीक विपरीत उनी भन्थिन्, “सुन्दरता यस्तो चिज हो, जसको सहायताले कसैले केही गर्न सक्छ ।”

उनका उपन्यास प्रयोगात्मक धारकै छन् । एरिस्टोटलियन धारमा लेखिने उपन्यासभन्दा उनका उपन्यास फरक लाग्छन् । कथाहरू क्रमिक रूपमा प्रस्तुत नगरिकन मोरिसनले तोडमरोड गरेर पाठकहरूलाई नै सक्रिय बनाउँथिन् । उनको तर्क छ, “एरिस्टोटलियन धार अर्थात् कथा सुरु, बीच र अन्त्य गरेर प्रस्तुत गर्दा पाठकहरू केबल पात्रहरूप्रति दया र सहानुभूतिमात्रै प्रकट गर्छन् । तर, क्रमभंग गरिएका कथा छन् भने पाठक आफैं सक्रिय हुन्छन् र कथाहरूलाई एक आपसमा जोड्ने काम गर्छन् ।”

मोरिसनको परिचय केबल उपन्यासकारका रूपमा मात्र सीमित छैन । उनी एक सफल सम्पादक पनि हुन् । प्रख्यात पब्लिकेसन र्‍यान्डम हाउसका लागि २० वर्ष वरिष्ठ सम्पादकका रूपमा काम गरेकी उनी सफल नाटककार र समीक्षक पनि हुन् ।

सन् १९५८ मा आर्किटेक्ट ह्यारोल्ड मोरिसनसँग विवाह गरेकी उनले आफ्ना दुई साना बच्चाको स्याहार गदैै र्‍यान्डम हाउसको जागिर भ्याउँथिन् । सन् १९६३ मै ह्यारोल्डसँग पारपाचुके गरेकी उनले भन्ने गर्थिन्, “आमा हुनुको जिम्मेवारी निर्वाह गर्नु नै मेरा लागि सहज काम हो ।” त्यसैले त उनी कलिला दुई छोराहरूको हेरचाह गर्दै र्‍यान्डम हाउसको वरिष्ठ सम्पादकको भूमिका निर्वाह गर्दै लेखन कार्यमा पनि सफल भइन् ।
 
मोरिसन साहित्यमा नोबेल पुरस्कार पाउने पहिलो अफ्रिकी अमेरिकी लेखक हुन् । सन् १९९३ मा उनले नोबेल पुरस्कार पाएकी हुन् । नोबेलभन्दा अघि पनि उनले थुप्रै साहित्यिक पुरस्कारहरू प्राप्त गरेकी थिइन् । सन् १९८८ मा ‘बिलभेड’का लागि उनले पुलित्जर पुरस्कार पाएकी थिइन् । १९८७ मा लेखिएको यो उपन्यासमा उनले प्रेम र श्वैरकल्पनालाई विशेष जोड दिएकी छन् ।

उपन्यासमा एउटी दास महिलाको कारुणिक कहानी प्रस्तुत गरिएको छ । दास प्रथाले उत्पन्न गराएको मनोवैज्ञानिक प्रभावलाई उपन्यासले उजागर गरेको छ । उपन्यासमा पूर्वदासी महिला सेथे र उनकी छोरी डेनभरले भोगेको जीवनलाई प्रस्तुत गरिएको छ । उपन्यास १८६१ देखि १८६५ सम्म चलेको अमेरिकी गृहयुद्ध पछाडिको परिघटनालाई समेटेर लेखिएको हो । पूर्वदासी महिला मार्गरेट गार्नरको जीवनबाट उत्प्रेरित भएर यो उपन्यास लेखिएको हो ।

गार्नर सन् १८५६ मै केन्टकीबाट भागेर स्वतन्त्र राज्य ओहायो गएकी थिइन् । उपन्यासमा पनि सेथे दासी जीवनबाट भाग्छिन् । तर भागेको २८ दिनमै उनी समातिन्छिन् । उनले आफ्नी दुई वर्षे छोरीलाई आफ्नै हातले मार्छिन् । दास भएर हजार पटक मर्नुभन्दा एकपटक मर्नु नै उत्तम ठानेर उनले छोरीको हत्या गरेको बताउँछिन् । सन् १९९८ मा उपन्यासमा आधारित भएर जोनाथन डेम्मेले चलचित्र पनि बनाए, जसमा ओप्रा विन्फ्रे र ड्यानी ग्लोभरले मूख्य भूमिका निभाएका थिए ।

मोरिसनका कृतिहरूले प्रसिद्धि कमाए पनि विवादरहित हुन भने सकेनन् । उनको पहिलो कृति ‘द ब्लुएस्ट आई’ यौन विषयवस्तुका कारण विद्यालयका पाठ्यक्रमबाट हटाउन धेरै माग भएको थियो । त्यसो त उनी आफ्ना अन्तर्वार्ताका कारण पनि पटक–पटक चर्चा र विवादमा आउने गर्छिन् ।

सन् २०१२ मा फ्लोरिडामा सुरक्षा गार्डद्वारा एक अश्वेत युवक ट्रेभोन बेन्यामिन मार्टिनको गोली हानी हत्या भएपछि दिएको अन्तर्वार्तामा मोरिसन भन्छिन्, “मैले जीवनमा दुई चिज हेर्न चाहन्छु, पहिलो कुरा म श्वेत बालकलाई प्रहरीले पछाडिबाट गोली हानी हत्या गरेको । त्यो कदापि हुनेछैन । दोस्रो– म एक श्वेत पुरुषले अश्वेत महिलालाई गरेको बलात्कारलाई अपराध र अपराधीको रूपमा रेकर्ड गरिएको हेर्न चाहन्छु ।”

अमेरिकामा पटक–पटक अश्वेत नागरिकहरू प्रहरीको गोलीको सिकार भएका छन् । एउटा तथ्यांक हेर्ने हो भने अमेरिकामा सन् २०१५ मा मात्रै सयभन्दा बढी अश्वेत नागरिक मारिएका छन् ।

मोरिसनले सन् २०१२ मा राष्ट्रपति ओबामाको हातबाट ‘प्रेसिडेन्सियल मेडल अफ् फ्रिडम’ थापेकी थिइन् । ओबामा र उनको घनिष्ठ मित्रता रहेको बताइन्छ । ओबामाको प्रशंसामा धेरै शब्द खर्चिने उनी हिलारी क्लिन्टनको पनि समर्थक हुन् । उनले अमेरिकामा अझै पनि कायमै रहिआएको रंगभेदी समाजदेखि दिक्क भएर आफूले तीन कुरा भन्न चाहेको बताएकी छन् । समीक्षक हिल्टन एल्ससँग उनले भनेकी छन्, “मलाई तीन कुरा भन्नु छ, पहिलो ‘नो’, दोस्रो ‘शट् अप’ र तेस्रो ‘गेट आउट’ ।” यसले पनि पूर्वाग्रही अमेरिकी समाजप्रति उनको धारणा बुझ्न सकिन्छ ।

करिब ५० वर्षको लेखन यात्रामा  मोरिसन अमेरिकी अश्वेतहरूका लागि आफ्ना रचना र अभिव्यक्तिमार्फत लड्दै आएकी थिइन् । गायत्री स्पिभाक चक्रवर्तीले ‘क्यान द सबाल्टर्न स्पिक’मा भनेझैँ मोेरिसनले सीमान्तकृत बनाइएका अश्वेत अमेरिकीहरूको आवाज उठाउने काम गरेकी थिइन् । उनले अफ्रिकी मूलका अमेरिकी नागरिकको प्रतिनिधित्व गर्दै समान र न्यायपूर्ण समाजको वकालत गर्दै आएकी थिइन् ।

उनले केबल साहित्यिक रचनाबाट मात्रै होइन, विभिन्न अन्तरक्रिया तथा अन्तर्वार्तामार्फत पनि आफ्ना फरक मत राख्दै आएकी छन् । मोरिसनका थुप्रै चर्चित कृतिहरू छन् । ‘सुला’, ‘सङ अफ् सोलोमन’, ‘टार बेबी’, ‘ज्याज’, ‘प्याराडाइज’, ‘लभ’, ‘होम’ केही चर्चित पुस्तक हुन् ।

अन्तिम अपडेट: मंसिर ५, २०७६

तपाईको प्रतिक्रिया