बालक बलि प्रकरण: शक्ति बढाउन बालककाे बलि दिन उक्साउने झाँक्री पक्राउ

 साउन ३२, २०७६ शनिबार १९:०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा - शक्ति बढाउन बालकलाई बलि दिन उक्साएकाे आरोपमा एक झाँक्री पक्राउ परेका छन् ।

गएकाे वैशाख २३ गते धनुषाको मिथिला नगरपालिका-६ बस्ने सम्भु साहका अढाई वर्षीय छोरा आर्यन साहको बलि दिएकाे घटनामा मुछिएपछि फरार रहेका ५५ वर्षका झाँक्री जंगली महतो पक्राउ परेका हुन् । पक्राउ परेका झाँक्री मिथिला नगरपालिका-७ कुसुमबिसौनाका बासिन्दा हुन् ।

घटनापछि फरार झाँक्री महतोलाई बिहीबार रक्षाबन्धनको दिन घरबाटै ईलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेका झाँक्रीमाथि अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।

शक्ति बढाउन भन्दै झाँक्री विद्या सिक्दै गरेका छिमेकी गाउँका  ५५ वर्षीय सत्रुधन महतोले गएकाे वैशाख २३ गते राति बालक आर्यनलाई घरेलु हतियार प्रयोग गरी घाँटी रेटेर बलि दिएका थिए । घटनापछि जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी र संघीय प्रहरी इकाइले संयुक्त रुपमा ६५ जनालाई नियन्त्रणमा लिएर गरेको सूक्ष्म अनुसन्धानको क्रममा छिमेक झाँक्री सत्रुधन महतोले यौनशक्ति बढाउन बालकको बलि दिएको खुलासा भएको थियो ।

उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले गएकाे जेठ १६ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । सत्रुधनले आफूलाई झाँक्री सिकाउने छिमेक गाउँका झाँक्री जंगली महतोले यौनशक्ति प्राप्त गर्न र शक्तिशाली बन्न बालकको बलि दिन भनेपछि यस्तो घटना घटाएको प्रहरीमा बयान दिएका थिए । त्यस पछि झाँक्री जंगली महतो फरार भएका थिए ।  

 

 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया