डाेटीमा डेङ्गुबाट एक जनाकाे ज्यान गयो

 भदौ ६, २०७६ शुक्रबार ९:२७:३२ | विमल बिष्ट
unn.prixa.net

डाेटी – सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा डेङ्गु रोगबाट एक जनाको ज्यान गएको छ । जिल्लामै पहिलोपटक याे रोगबाट दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छायाँ’ को ज्यान गएको हो ।

लामो समयदेखि टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि उपचारका लागि उहाँलाई कैलालीको मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो । 

उपचारका क्रममा उहाँको ज्यान गएको र पछि चिकित्सकले डेङ्गु रोग लागेको बताएको उहाँका जेठाजु नारद मलासीले बताउनुभयो । उहाँले भन्नुभयो,‘लामो समयदेखि बिरामी भएकाले भारइल ज्वरोको समस्या होला भन्नेमा थियाैँ, रोग निको नभएपछि कैलालीतर्फ लग्यौँ, उपचार गर्दागर्दै ज्यान गयो, चिकित्सकले डेङ्गु हो भनेपछि, हामी आश्चर्यचकित भयौँ ।’

जिल्ला बाहिर कहिले नगएकी यी महिलालाई कसरी डेङ्गु रोग लाग्यो, यो विषयमा जिल्लामा रहेका चिकित्सकसमेत अचम्ममा परेका छन् । डेङ्गु रोग लागेर महिलाको ज्यान गएपछि अहिले यो क्षेत्रमा त्रास छाएको स्थानीयवासी बताउँछन् । मृतक मलासीमा डेङ्गु र स्क्रब टाइफस रोग देखिएको मायामेट्रो अस्पतालका डा. विष्णु जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मृतकमा डेङ्गु र स्क्रब टाइफस रोगले धेरै सङ्क्रमण गरिसकेको थियो, उपचार सम्भव भएन र ज्यान गयो ।’

जिल्ला अस्पताल डोटीका डा. भूषण मिश्रले भन्नुभयो, ‘एडिज नामको लामखुट्टेको टोकाइबाट यो रोग सर्छ, तर डोटीमा अहिलेसम्म पनि डेङ्गु रोगका बिरामी देखिएका छैनन्, हामी नै अचम्ममा परेका छौँ ।’ डा.मिश्रका अनुसार एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता–काला धब्बाहरु हुन्छन् । यसले दिउँसो मात्रै मानिसलाई टोक्दछ भने सफा र स्थिर पानीमा यसले अण्डा पार्ने गर्दछ ।

यसले आफ्नो १४ देखि २१ दिनको जीवनचक्रमा करिब ३०० अण्डा पार्दछ । ज्वरो आएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि यो लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा उसलाई पनि डेङ्गु सर्दछ । लामखुट्टेको कारण भन्दा पनि मानिसको तीव्र बसाइँसराइ र भ्रमणले यो रोग सार्न सहयोग गरिरहेको चिकित्सको दाबी छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया