रुपन्देहीमा कालाजारबाट एक जनाको ज्यान गयो

 भदौ २४, २०७६ मंगलबार १६:३४:३७ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – रुपन्देहीमा कालाजारबाट एक जनाको ज्यान गएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्ढेङगढीकी २३ वर्षीया जीवन रानाको मृत्यु भएको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर कृष्णप्रसाद खनालका अनुसार भैरहवाको मेडिकल कलेजमा उपचारको क्रममा कालाजारको लक्षण देखिएपछि उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो । यो क्षेत्रमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा  कालाजारको उपचार हुने गर्दछ ।

वरिष्ठ फिजिसियन डाक्टर महेशराज घिमिरेका अनुसार मानिस दुब्लाउँदै जाने, रक्त अल्पता हुने, फियोे र कलेजोको आकार बढ्ने, सामान्यदेखि उच्च ज्वरो आउने, पेट फुलिने, खान मन नलाग्ने, शरीर कमजोर हुँदै जाने कालाजारका लक्षण हुन् । कालाजार लेसमानिया डोनोभानी प्यारासाइट नामक जिवाणुका कारण हुने रोग भएको डाक्टर घिमिरेले जानकारी दिनुभयो ।

कालाजार एक प्रकारको सेन्ट फ्लाई नामक भुसुनाको टोकाइबाट सर्ने गर्दछ । रोगी व्यक्तिलाई टोकेको भुसुनाले निरोगी व्यक्तिलाई टोकेमा यो रोग सर्ने गर्दछ । पहिला पहिला यो रोग तराई क्षेत्रमा बसोबास गर्नेलाई मात्रै हुने गरे पनि पछिल्लो समयमा पहाडी र उच्च हिमाली क्षेत्रमा समेत देखिन थालेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया