अर्थ मन्त्री खतिवडा र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता, ५ सय र हजारका भारु नोट साट्ने विषयमा छलफल

 असोज १७, २०७६ शुक्रबार ११:३६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले भारतीय अर्थ मन्त्री निर्मला सीतारमणसँग शिष्टाचार भेट गर्नु भएको छ ।

भारतमा भइरहेको विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन गएको अवसरमा अर्थमन्त्री डा. खतिवडा र भारत सरकारका वित्त मन्त्री निर्मला सितारमणबीच भारतको वित्त मन्त्रालयमा शिष्टाचार भेट भएको हो ।

भेटका अवसरमा अर्थमन्त्री डा. खतिवडाले  नेपालको विकासका लागि भारत सरकारबाट निरन्तर प्राप्त सहयोगका लागि धन्यवाद दिँदै द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानीका विषयमा छलफल गर्नुभयो ।

अर्थमन्त्री  डा. खतिवडाले भारतीय सहयोगमा सञ्चालित विभिन्न आयोजनाको कार्यान्वयन अवस्थाबारे जानकारी गराउनुभयो । उहाँले भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले उपलब्ध गराउने सहुलियतपूर्ण ऋणलाई पूर्वाधार क्षेत्रमा समेत उपयोग गर्ने गरी तय गरिएका आयोजनाहरुको विषयमा जानकारी गराउनुभयो ।

साथै, साना विकास अनुदान आयोजना, हुलाकी सडक, एकीकृत चेक पोष्टको कार्यान्वयन अवस्था बारेमा पनि उहाँले भारतीय समकक्षीलाई जानकारी गराउनुभयो । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडमा भारतीय लगानीकर्ताबाट समेत इक्विटीमा लगानी गर्नका लागि प्रक्रिया अघि बढेको जानकारी दिँदै मन्त्री खतिवडाले त्यो कार्य अघि बढाउन अनुरोध गर्नुभयो ।

अर्थ मन्त्री डा. खतिवडाले भारत सरकारले भारु ५ सय र १ हजारका नोट प्रचलनमा बन्देज लगाउनुभन्दा पहिले नेपालमा मौज्दात भारु ५ करोडको सटही सम्बन्धमा देखिएको समस्या समाधानका लागि पहल गर्न अनुरोध गर्नुभयो । साथै, भारतबाट नेपालतर्फ जाने व्यक्तिहरुले आफूसँग लैजान पाउने ठूला दरका भारु नोटहरु फर्काउने सम्बन्धमा द्विविधा भएकाले त्यसलाई स्पष्ट हुने गरी आवश्यक सूचना जारी गरिदिन समेत अनुरोध गर्नुभयो ।

अर्थमन्त्री डा. खतिवडाले पछिल्लो आर्थिक स्थिति, लगानीको वातावरण तथा राजस्वका क्षेत्रमा भएका सुधारका प्रयास, द्विपक्षीय व्यापार, वाणिज्य सन्धिलगायतका विषयमा समेत छलफल गर्नुुभयो । नेपालको वैदेशिक व्यापारको दुई तिहाई हिस्सा भारतसँग भएको उल्लेख गर्दै अर्थमन्त्री डा. खतिवडाले बढ्दो व्यापार घाटा सम्बोधन गर्न भारत सरकारबाट पनि सहयोग प्राप्त हुने अपेक्षा गर्नुभयो ।

भारतका वित्त मन्त्री निर्मला सीतारमणले नेपाल–भारतबीचको सम्बन्ध सदियौँदेखि भएको उल्लेख गर्दै आउँदो दिनमा सहायतालाई बढाउने जानकारी गराउनुभयो । उहाँले भारतीय सहयोगमा सञ्चालित आयोजना तथा विगतको भारु नोट प्रचलनमा भएको बन्देज र भारु नोट प्रयोगका क्रममा उत्पन्न समस्यालाई दुवै देशको सहमतिमा समाधान गरिने बताउनुभयो । साथै, नेपाल भ्रमणका लागि निमन्त्रणा गरेकोमा अर्थमन्त्री डा. खतिवडालाई धन्यवाद दिँदै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने जानकारी गराउनुभयो ।

भेटमा नेपाली राजदूतावास नयाँ दिल्लीका नियोग उपप्रमुख भरत रेग्मी र अर्थ मन्त्रालयका उपसचिव रमेश अर्यालको समेत उपस्थिति रहेको थियो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया