‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ सैन्य वा राजनीतिक गतिविधिलाई अघि बढाउन ल्याइएको हाेइन: अमेरिकी राजदूत

 असोज १७, २०७६ शुक्रबार १३:२१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले आफ्नो देशले अघि सारेको ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ कुनै पनि खालको सैन्य गतिविधि वा राजनीतिक गतिविधिलाई अघि बढाउने उद्देश्यका साथ नल्याइएको स्पष्ट पार्नुभएको छ । 

नेपालमा चीनले अघि सारेको ‘बीआरआई’ अवधारणामाथि व्यापक छलफल भइरहेका बेला अमेरिकी राजदूत बेरीले सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेट गरी आफ्नो यस्ताे प्रष्टयाउनु भएको हो ।

शुक्रबार बिहान काठमाण्डाैको डल्लुमा रहेकाे खनाल निवासमै पुगेर उहाँले पूर्व प्रधानमन्त्री समेत रहनु भएका खनालसँगको भेटमा नेपाल तटस्थ देश भएकाले त्यस स्ट्राटेजीमा सहभागी गराउन अमेरिकाले कुनै पनि प्रयास नगर्ने पनि दोहोर्‍याउनु भयो ।

राजदूत बेरीले आफूसँगको भेटमा नेपाललाई आफ्नो देशले अघि सारेको ‘इण्डो–प्यासिफिक स्ट्राटिजी’ मा सहभागी गराउन कुनै पनि प्रयास नगर्ने बताउनु भएको वरिष्ठ नेता खनालले जानकारी दिनु भयो ।

‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ कुनै सैन्य संगठन होइन, यो कुनै राजनीतिक मोर्चा पनि होइन,’ अमेरिकी राजूदत बेरीसँगको भेटवार्तालाई उद्धृत गर्दै वरिष्ठ नेता खनालले भन्नुभयो, ‘हामी नेपाललाई यसमा ल्याउन वा तान्न बिल्कुलै प्रयत्न गरिरहेका छैनौँ ।’

वरिष्ठ नेता खनालले पनि नेपालले असंलग्नताको नीति लिएको हुनाले त्यस्ता रणनीतिक साझेदारीहरुमा तटस्थताको भूमिका निर्वाह गर्ने जवाफ राजदूत बेरीलाई दिनुभएको थियो ।

राजदूत बेरीसँग दुई देशबीचको सम्बन्धलाई अझै घनिष्ट बनाउने विषयमा पनि छलफल गरिएको वरिष्ठ नेता खनालले बताउनु भयो । नेपालमा चिनियाँ गतिविधि बढदै गइरहँदा अमेरिकी राजदूत बेरीले तीव्रता दिनुभएको राजनीतिक भेटवार्तालाई रुचिपूर्वक हेरिएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया