इंग्लिस प्रिमियर लिग : उल्भ्सविरूद्धकाे खेलमा सिटीलाई लिभरपुलसँगकाे दुरी घटाउने माैका

 असोज १९, २०७६ आइतबार ११:१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा आज दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले वुल्भरह्याम्पटन उल्भ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

घरेलु मैदान इतिहाद स्टेडियममा हुने खेलमा म्यानचेस्टरका प्लेमेकर केभिन डी ब्रुइन भने उपस्थित हुने छैनन् । ग्रोइन इञ्जुरीको समस्याका कारण उनी टिमबाहिर रहेका छन् । 

च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको खेलमा उनी घाइते भएका थिए । त्यस्तै पछिल्लो पटक चोटका कारण टिमबाहिर रहेका डिफेण्डर जोन स्टोन्स आजको खेलमा फर्किनेछन् । 

यता उल्भ्सका फरवार्ड डियोगो जोटाले सिटीविरुद्धको खेल गुमाउने भएका छन् । उनको खुट्टाको जोर्नीमा चोट लागेको छ । उल्भ्सका प्रशिक्षकले टिमका अरु खेलाडी फिट रहेको बताएका छन् ।

प्रिमियर लिगका खेलमा उल्भ्सले इतिहाद मैदानमा जम्मा दुई ओटा खेल जितेको छ । सन् १९७९ यता सिटीले घरेलु मैदानमा उल्भ्सविरुद्ध हार्नुपरेको छैन ।

सन् १८९४ पछि प्रिमियर लिगका सुरुवात सात खेलमा २७ गोल गर्ने सिटी पहिलो टिम बनेको छ । त्यसबेला एभर्टनले पनि २७ गोल नै गरेको थियो ।

आइतबारको खेलमा सिटी उल्भ्सविरुद्ध सहज जित निकालेर शीर्ष स्थानको लिभरपुलसँगको दुरी घटाउने लक्ष्यमा हुनेछ । जारी सिजनमा शतप्रतिशत जित निकालेको लिभरपुललाई पक्ष्याइरहेको सिटी विजयी भएमा दुरी ५ अंकमा झर्नेछ ।

यस्तै आइतबार नै हुने अन्य खेलमा आर्सनलले घरेलु मैदानमा बर्नेमाउथको सामना गर्नेछ । यता चेल्सीले साउथह्याम्पटनसँग खेल्दा म्यानचेस्टर युनाइटेडले न्युकासल युनाइटेडसँग खेल्नेछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया