झ्याप्प–झ्याप्प बत्ती जाने समस्या अब हट्छ : कुलमान घिसिङ

 पुस २, २०७६ बुधबार १३:५६:५ | कुलमान घिसिङ
unn.prixa.net

नेपाल विद्युत प्राधिकरणले घरायसी उपकरण प्रयोग गर्दा विद्युतीय सामग्री प्रयोग गर्न आग्रह गरेको छ । देशमा उत्पादित बिजुलीले आत्मनिर्भर बन्दै गएको र पेट्रोलियम पदार्थभन्दा बिजुली नै सस्तो भएको भन्दै प्राधिकरणले विद्युतीय सामग्रीको प्रयोग गर्न आग्रह गरिरहेको छ ।

तर विद्युतीय सामग्री प्रयोग गर्दा लोड थाम्न नसकेर ट्रान्सफर्मर पड्कने, आगो लाग्ने, तार जल्ने र घरगोठ नै जल्ने तथा नागरिकको ज्यानै जानेसम्मका घटना भएका छन् । यस्तो समस्या हटाउन गएको आर्थिक वर्षमा विद्युत प्राधिकरणले १० हजार वटा नयाँ ट्रान्सफर्मर जडान गरेको थियो । अहिले पनि सुधारका काम भैरहेका छन्, तर पर्याप्त छैनन् । अहिले पनि झ्याप्प-झ्याप्प बत्ती किन गैरहन्छ भन्ने विषयमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग साथी अर्जुन पोख्रेलले गरेको कुराकानीको सम्पादित अंश :

अहिले काठमाण्डौ उपत्यकासहित देशैभरि झ्याप्प-झ्याप्प बत्ती जान थालेको छ, के भएर यस्तो भएको हो ?

त्यसरी बत्ती गइरहन्छ जस्तो त मलाइ लाग्दैन । अघिल्लो हप्ता देशैभरि झरी पर्‍यो, झरीको कारण केही ठाउँमा खराबी आयो र बत्ती काटिने समस्या आएको थियो । ठूलो पानी परेको भए त्यस्तो हुने थिएन । लामो समयपछिको झरीले गर्दा ट्रान्सफर्मर र तारमा केही समस्या आएको हो । अरु बेला त्यसरी हल्ला भएजस्तो छिनछिनमा बत्ती जाने समस्या भए जस्तो त मलाइ लाग्दैन । अनि अर्को कुरा जाडो बढेपछि माग पनि बढेको छ । पानी परेपछि मात्रै काठमाण्डौको माग ४ सय मेगावाट पुगेको छ । गर्मीमा साढे २ सय मेगावाट भए पुग्थ्यो । लोड बढेसँगै कतै-कतै प्राविधिक कारणले केहीबेर बत्ती गएको हुन सक्छ । 

पानी नपरेको बेला पनि बत्ती धेरै नै जान थालेको छ, सामाजिक सञ्जालमा हेर्‍याे भने 'कुलमान जानुभयो' भनेर व्यङ्ग्य पनि आइरहेको हुन्छ । प्राविधिक समस्या पूर्णरुपमा समाधान गर्न किन सक्नुभएको छैन ?

पूर्णरुपमा समाधान गर्न गाह्रो छ, भनेजस्तो सजिलो छैन । घरमा स्विच थिचेर बत्ती बाल्नको लागि हामीले कति धेरै प्रक्रिया पूरा गर्नुपर्छ, अनि कति धेरै संरचना छन्, हेर्नुस् त । ट्रान्सफर्महरु परिवर्तन गरेका छौँ, सब-स्टेशनहरु बनाएका छौँ । दैनिक १८ घण्टासम्म लोडसेडिङ हुँदा धान्ने संरचनाले अहिले २४ सैँ घण्टा बिजुली दिँदा काम गरेका छैनन् । 

अर्को कुरा नयाँ संरचना परिवर्तन गर्दा पनि लाइन काट्नुपर्छ । सडक विस्तार भैरहेको छ । पोल सार्दा पनि बत्ती काट्नुपर्छ । कतै रुख काट्नुपर्छ, त्यही लाइन काटिन्छ । सुधार गर्ने क्रममा पनि बत्ती काट्नुपर्छ । बिजुली नपुगेर लोडसेडिङ गर्नुपर्ने अवस्था छैन । 

अहिलेको मुख्य चुनौती भनेको गुणस्तरीय र नियमित बिजुली पुर्‍याउनु नै हो ?

हो, हाम्रो मुख्य चुनौती नै नियमित र गुणस्तरीय बिजुली पुर्‍याउनु हो । भरपर्दो बिजुली दिनलाई हामीले काम गरिरहेका छौँ । हामीले गएको वर्ष मात्रै झण्डै १० हजार ट्रान्सफर्मर परिवर्तन गर्‍यौँ । एक सयभन्दा धेरै सब-स्टेशन चार्ज गरेका छौँ । 

काठमाण्डौको कुरा गर्दा अहिले ६ वटा सब-स्टेशन निर्माण भैरहेका छन् । १३२ केभीका अन्डरग्राउण्ड लाइन विस्तार गर्दैछौँ । बानेश्वरदेखि भक्तपुरसम्मको लागि ओभरलोड भैरहेको छ, त्यसलाई अपग्रेड गर्न गाह्रो छ । भक्तपुरदेखि बानेश्वर जमिनमुनिबाटै लाइन ल्याउँदैछौँ । काठमाण्डौको पूरै प्रणाली सुधार्न अन्डरग्राउण्ड केबलिङ गर्दैछौँ । ट्रान्सफर्मर नै परिवर्तन गर्न पनि २/४ दिन लाग्छ, बिजुली काट्नुपर्छ । एकैछिन बिजुली गयो भने धेरै नराम्रा कुरा सुन्नुपर्छ । सकभर कसरी हुन्छ बिजुली नकाटिकनै हामीले संरचना परिवर्तन गरिरहेका छौँ । सुधार विस्तारै हुन्छ । 

लोड थाम्न नसकेर बत्ती काटिनुमा तपाईँहरुका संरचना मात्रै कमजोर छन् कि उपभोक्ता संरचना पनि कमजोर छन् ?

तपाईँले एकदमै राम्रो कुरा उठाउनु भयो, हाम्रा संरचना कमजोर भएको ठाउँमा सुधार भैरहेको छ । तर उपभोक्ताका आफ्नै संरचना कमजोर हुँदा पनि समस्या भैरहेको छ । जस्तै कुनै घरमा ५ एम्पिएर मात्रै धान्ने सामान राखेको छ तर उपकरण चल्छ १५ एम्पिएरका । त्यसो हुँदा त एमसीभी नै झरिहाल्छ, अनि बिजुली काटिन्छ । अनि तार पनि कम गुणस्तरको र सानो राख्ने गर्दा तार जल्ने र लाइन काटिने सम्भावना पनि हुन्छ । वायरिङ गर्दा थोरै लोडको लागि भनेर कम क्षमताका सामग्री राख्दा पनि यस्तो भएको हो । 

त्यसोभए अहिले पिक आवरमा इन्डक्सन चुल्हो लगायतका विद्युतीय सामग्री प्रयोग गर्ने कि नगर्ने त ?

इन्डक्सन चलाउनासाथ बिजुली गएको भन्ने कुरामा म सहमत छैन । एक, दुई ठाउँका समस्यालाई देखाएर सबै प्रणालीलाई दोष दिनु हुँदैन । कहिलेकाहीँ त मेरै घरमा भात पकाउँदा पनि बत्ती जान्छ, तर हामीसँग ग्यासको विकल्प त छ नि । हामीले अहिल्यै ग्यासका सिलिण्डर फ्याँक्नुस् त भनेका छैनौँ, पावरले धानेसम्म पकाउनुस् भनेका छौँ । ग्यास सिलिण्डर वैकल्पिकरुपमा राखिरहनुस्, तर बिजुली प्रयोग गर्नुहोस् भन्ने हाम्रो आग्रह हो । 

घरायसी विद्युतीय उपकरणमा सरकारले सहुलियत दिएमा यसको प्रयोग अझै बढाउन सकिन्छ भन्ने बहस पनि सुरु भएको छ, सहुलियत दिन सकिन्छ ?

दिन सके त राम्रै हो । तर सरकारको आर्थिक क्षमता कस्तो छ, बजेटले भ्याउँछ कि भ्याउँदै भन्ने कुरा पनि होला । सरकारले यसमा नीति नै बनाउनुपर्छ । घरायसी उपकरणमा लाग्ने भन्सार महसुल कम गरेमा पनि मूल्य सस्तो पर्न आउँछ होला । विद्युतीय गाडीमा अझै छुट दिन सकिने ठाउँहरु हुन सक्छन् । अनि ग्यासमा दिएको सहुलियत हटाएमा पनि विद्युतीय सामग्रीको भाउ सस्तो पर्न सक्छ होला । तर अहिले नै उपभोक्तालाई सहुलियतमा विद्युतीय सामग्री दिन सकिनेबारे तयारी भएको मलाई जानकारी छैन  ।

अनि कुलमान घिसिङ काठमाण्डौ केन्द्रित भए । काठमाडौमा लोडसेडिङ अन्त्य गरे, अन्यत्र गरेनन् । देश भनेको काठमाण्डौ मात्रै हो जस्तो गरे भन्ने आरोप छ । काठमाण्डौबाहिर अघोषित लोडसेडिङ भयो भन्छन्, किन यस्तो भएको  ?

मैले फेरि पनि दोहोर्‍याएर भन्छु, हामीसँग बिजुली अपुग भएर बत्ती गएको होइन । हामीले तालिका निकालेर बत्ती काट्नुपर्ने अवस्था छैन । काठमाण्डौ बाहिरको कुरा गर्नुभयो, समस्या छ म पनि स्वीकार गर्छु । सुरुमा घर घरमा बत्ती पुर्‍याइ हालौँ भनेर डेढ सय किलोमिटर परसम्मको सब-स्टेशनबाट बिजुली तानेर लगिएको छ । डेढसय किलोमिटरमा कति धेरै पोल हुन्छन्, एउटामा समस्या आयो भने डेढ सय किलोमिटर क्षेत्र पूरै अन्धकार हुन्छ । त्यति लामो लाइनमा कहाँनेर खराबी आयो भनेर पत्ता लगाउनै समय लाग्छ र त्यहाँ पुगेर बनाउन समय लाग्छ । 

त्यसरी विद्युतीकरण भएका ठाउँमा हामीले अब भरपर्दाे बिजुली पुर्‍याउन सब-स्टेशन बनाउने र ट्रान्सफर्मर जडानको काम तीव्र बनाएका छौँ । ३/४ वर्षअघिको त्यस्तो लथालिङ्ग अवस्थालाई पूर्ण सुधार गर्न त समय लाग्छ नि । बाहिरबाट कुलमान जानुभयो भनेर फ्याट्टै भन्न सजिलो छ, तर यहाँ कति बाधा अवरोध पन्छाएर र प्रक्रिया पूरा गरेर काम गर्नुपर्छ हेर्नुहोस् त । 

सुरुमा गाउँमा बिजुली पुर्‍याइहालौँ भनेर एउटा सब-स्टेशनबाट डेढ सय किलोमिटरसम्म लामो लाइन विस्तार गरिएको थियो । त्यस्ता संरचनाले अब धान्नेवाला छैनन् । अब यी सुधार हुँदैछन् । 

जाडो बढेसँगै विद्युतीय सामग्रीकै कारण आगलागी हुने क्रम पनि बढेको छ । यसलाई कसरी रोक्न सकिन्छ ?

हो, ठाउँ-ठाउँमा ट्रान्सफर्मरमा आगलागी भएका, घरगोठ जलेका खबर आइरहेका छन् । अहिलेसम्म धेरैजसो ठाउँमा नाङ्गाे तार नै छ, नाङ्गाे तार भएका ठाउँमा अलि ध्यान दिनुपर्‍यो । अनि रुख बढ्दै गएर तार छुँदा पनि सर्ट भएर आगलागी भएका घटना आइरहेका छन् । एउटा रुख काट्ने अनुमतिका लागि कति ठाउँमा धाउनुपर्छ भन्ने त तपाईँलाई थाहै होला । रुख काट्न ढिलाइ हुँदा पनि यस्ता समस्या आएका छन् । 

अर्को कुरा पोल र तार नजिकै घर नबनाउनुस् भन्दा सर्वसाधारणले अटेरी गर्छन् । घरले बिजुलीको तार छुने अवस्था हुँदासम्म पनि बढाइरहन्छन् । घरको उचाइ यति धेरै बढाइदिने कि मान्छे निहुरिएर घरको ढलान गरेका घटना पनि छन् । अनि पछि छतमा जाँदा बिजुलीको तार छोइन्छ र करेन्ट लाग्छ, जनधनको क्षति हुन्छ । त्यसैले हामी आफै पनि सचेत हुनुपर्छ । कतै समस्या देखिएमा विद्युत प्राधिकरणलाई खबर गर्नुपर्छ । 

अन्तिम अपडेट: माघ ३, २०७६

कुलमान घिसिङ

घिसिङ नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया