मौरिससमा कामदार पठाउन नेपालले भर्ना प्रक्रिया मर्यादित बनाउनुपर्ने

 फागुन १७, २०७६ शनिबार १८:३५:१६ | उज्यालो सहकर्मी

काठमाण्डौ – अफ्रिकी देश मौरिससले नेपालबाट कामदार पठाउँदा मर्यादित भर्ना प्रक्रिया अपनाउनुपर्नेमा जोड दिएको छ । 

नेपाल र मौरिससबीच गएको वर्षको जुन महिनामा सम्पन्न श्रम समझदारीको पाटो टुङ्ग्याउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवसहितको टोली गएको मंगलबार मौरिसस गएको हो । 

शनिबार मौरिससमा रोजगारदाताहरुको संगठनका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफलका क्रममा मौरिसस पक्षले नेपालबाट कामदार पठाउँदा मर्यादित भर्ना प्रक्रिया अपनाउन जोड दिएको दक्षिण अफ्रिकाको प्रिटोरियामा रहेको नेपाली दूतावासले जनाएको छ । 

मौरिसिससँग श्रम समझदारी भएको ८ महिना बितिसक्दा पनि दुई देशको संयुक्त कार्य दलको बैठक बस्न नसकेको कारण कार्यान्वयनको पाटो टुङ्गो लाग्न सकेको थिएन ।

त्यहाँका श्रम, मानव श्रोत विकास तथा तालिम मन्त्री सुदेश सत्कम कालीचरणले श्रम समझदारी कार्यान्वयनको पाटो टुङ्ग्याउन मन्त्री यादवलाई पत्राचार गरेपछि नेपाली टोली मौरिसस पुगेको हो । 

मौरिससका श्रम मन्त्री कालीचरणसँगको भेटवार्तामा श्रम समझदारीको प्रभावकारी कार्यान्वयनका लागि दुवै पक्षबाट निरन्तर सहकार्य गर्दै जाने बारेमा शुक्रबार छलफल भयो । त्यसपछि द्विपक्षीय समझदारी अनुरुपको संयुक्त कार्य समूहको बैठक बसेर मर्यादित कामदार भर्नासँग सम्बन्धित सबै प्रक्रियाहरुका विषयमा तथा लागतको विषयमा पनि विस्तृत छलफल भयो ।

मन्त्री यादवले माैरिससमा रहेका नेपाली श्रमिकहरुसँग पनि भेटघाट गर्नुभएकाे छ ।

यस्तै, मन्त्री यादवले मौरिससका कृषि, उद्योग तथा खाद्य सुरक्षा मन्त्री महिनकुमार सिरुतनसँग मौरिससको कृषि क्षेत्रमा नेपाली कामदारहरुको रोजगारी सम्भावनाका बारेमा कुराकानी गर्नुभएकोे छ ।

मन्त्री यादवसँगै मन्त्रालयका सचिव विनोद केसी सम्मिलित पाँच सदस्यीय नेपाली टोली संयुक्त कार्य समूहको बैठकमा सहभागी हुन मौसिस भ्रमणमा रहेको छ । 
नेपाली टोली आउँदो सोमबार स्वदेश फर्किने मन्त्री यादवका प्रेस सल्लाहकार विजय यादवले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया