कोरोना सङ्क्रमित फेला परेपछि रुपन्देहीको पुर्निहवामा आवतजावतमा रोक

 बैशाख २०, २०७७ शनिबार १३:४२:२९ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - २५ वर्षीय युवा कोरोना सङ्क्रमित भेटिएपछि रुपन्देहीको कोटहीमाई गाउँपालिका-१ को पुर्निहवामा प्रशासनले आउन जान बन्द गराएको छ । 

मझगावामा रहेको आदर्श उच्च माध्यमिक विद्यालयको क्वरेन्टीनमा रहेका युवामा कोरोना पुष्टि भएपछि आवजजावत बन्द गरिएको हो ।  सिल गरिएको यो गाउँमा अर्को सूचना नभएसम्म आउजाउ गर्न नपाइने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो । 

गाउँको चारैतीर प्रहरी परिचालन गरिएको छ। सिल गरिएको ठाउँमा खाद्यान्न तथा अत्यावश्यक सामग्रीको लागि स्थानीय प्रशासनले समन्वय गर्ने भएको छ । ती सङ्क्रमितका दाजुलाई शुक्रबार नै र परिवारका अन्य ६ जना सदस्यहरुलाई शनिबार क्वरेन्टीनमा पठाइएको छ । 

सङ्क्रमित युवक भारतको दिल्लीबाट ट्रक चढेर वैशाख ५ गते मर्चवारको ठोठरी नाकामा आएका थिए । उनलाई लिन दाजु साइकल लिएर गएका थिए । प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर बिनोद गिरीले परिवारका अन्य सदस्यको स्वाब संकलन गरी परीक्षणका लागि पठाइने र कन्ट्रयाक ट्रेसिङ गरिने जानकारी दिनुभयो । 

कोरोना सङ्क्रमित ती युवालाई बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा राखेर उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिनुभयो ।

कोटहीमाइमा रहेको क्वरेन्टीनमा लकडाउन भएपछि नेपाल भित्रिएका १० जना रहेका छन् । पछिल्लो समय ६ जना थपिएका छन । सुरक्षा व्यवस्था कसिलो बनाइएको प्रशासनले बताएपछि स-साना नाका हुँदै नेपाल भित्रिनेहरुको संख्यामा कमी आएको छैन।

मर्चवार क्षेत्रमा कोरोना सङ्क्रमित भेटिएपछि समग्र रुपन्देहीका बासिन्दा नै आतंकित भएका छन । भारतबाट लुकिछिपी तरकारी तथा अन्य कृषि उपज मर्चवार हुँदै बुटवल भैरहवासम्म आउने गर्दछ । 

अन्तिम अपडेट: चैत १३, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया