'दैनिक तीन हजारदेखि ३५ सयसम्म नेपालीलाई स्वदेश फर्काउन सकिने'

 जेठ १६, २०७७ शुक्रबार २०:१६:३१ | उज्यालो सहकर्मी

काठमाण्डौ – सरकारले विदेशबाट दैनिक तीन हजारदेखि ३५ सयसम्म नेपालीलाई फर्काउन सकिने निश्कर्ष निकालेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाल सरकारबीच शुक्रबार भएको छलफलमा दैनिक तीन हजारदेखि ३५ सयसम्म नेपालीलाई स्वदेश फर्काउन सकिने निश्कर्ष निकालिएको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो ।

आज बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले साता वा दश दिनपछि दैनिक ३ हजारदेखि ३५ सयसम्म नेपालीहरूलाई स्वदेश ल्याउन सकिने निष्कर्ष निकालेको छ ।

यसका लागि नेपालमा भएका सबै सरकारी र निजी कम्पनीका जहाज उडाइनेछ र नेपाल आउन चाहनेहरूले जहाजको भाडा भने आफैं तिर्नुपर्नेछ । काठमाण्डौ विमानस्थलमा आइसकेपछि उनीहरूलाई होटलमा राखिनेछ । होटलहरूको मेनु र शुल्क सरकारले तय गर्नेछ । फर्केकाहरूले आफ्नो क्षमता अनुसार होटल छान्न पाउनेछन् ।

परराष्ट्र मन्त्रालयले तयार पारेको सूची अनुसार क्रमशः उनीहरुलाई स्वदेश फर्काउने कार्ययोजना छ। तेस्रो देशबाट नागरिक ल्याउने काम एक सातापछि सुरु हुने अनुमान छ ।

यसैबीच एनआरएनए अध्यक्ष पन्तले सम्पूर्ण डायस्पोराका नेपालीहरुलाई केहीदिन धैर्य गर्न अनुरोध गर्दै नेपाल सरकार र विदेशमा रहेका नेपालीहरु माझ कोरोना रोकथाम तथा राहत वितरण कार्यमा सहकार्य र सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था तथा राष्ट्रहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

 

अन्तिम अपडेट: चैत २, २०८०

1 Comments

  • भगवान घिमिरे

    May 31, 2020, 2:52 a.m.

    यसको मतलब सरकारले आफ्नै खर्चमा नेपाल फर्कन दिने र काठमान्डौका होटेलमा ससुल्क खाने बस्ने व्यवस्था सहितको एक हप्ता क्वारेन्टाइन राख्ने अनि सम्बन्धित पालिकामा पठाउने। ठिकै छ आफ्नो देश फर्कन पाउनु पनि भाग्यको कुरा हो यो महामारीमा।

  •  0 Reply

तपाईको प्रतिक्रिया