कतारबाट स्वदेश फर्कनुपर्ने नेपालीको कोरोना जाँचको व्यवस्था छिट्टै हुन्छ : दूतावास

 जेठ २१, २०७७ बुधबार १८:६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतारबाट नेपाल फर्कनुपर्ने नेपालीको कोरोना जाँचका लागि छिट्टै प्रवन्ध मिलाउने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

स्वदेश फर्कने नेपालीको कोरोना जाँचको विकल्पबारे नेपाल सरकार र कतार सरकारका विभिन्न निकायबीच समन्वय भइरहेकाले यस सम्बन्धमा छिट्टै निर्णय हुने दूतावासले जनाएको छ ।

विदेशमा कोरोनाको कारण अति नै समस्यामा परेर स्वदेश फर्कन पर्ने अवस्थामा रहेका नेपालीसँग स्वदेश फर्कनका लागि साथमा कोरोना जाँचको रिपोर्ट हुनेपर्ने प्रावधान भएकाले परदेशमा कोरोना कहाँ जाँच गराउने भन्नेबारे धेरै श्रमिकलाई अन्योल भइरहेको छ ।

सरकारले प्राथमिकताको आधारमा अबको केही दिनभित्रै अति नै समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउने भनिसकेको छ । जसअनुसार कतारमा रहेको नेपाली दूतावासले पनि स्वदेश फर्कन पर्ने नेपालीको प्राथमिकीकरण गर्दै आवश्यक थप कागजात मागेको छ ।

यी हुन् प्राथमिकता

दूतावासले सबैभन्दा पहिला सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकतामा राखेको छ । उनीहरुले दूतावासमा आफ्नो विवरण टिपाइसकेको भए पनि स्वदेश फर्कनका लागि थप पासपोर्ट, भिसा वा कतारी आईडीको प्रतिलिपि, स्वास्थ्य अवस्था गम्भीर भएमा त्यसको कागजात दूतावासमा बुझाउन पर्छ ।

यस्तै, अध्ययन समाप्त भएका विद्यार्थी पनि प्राथमिकतामा परेका छन् । उनीहरुसँग दूतावासले स्वदेश फिर्तीका लागि समन्य गर्न विद्यार्थी (इन्टर्नसिपमा रहेकासमेत)ले पासपोर्ट, भिसा र कतारी आईडीको प्रतिलिपि, अध्ययन सकिएका वा इन्टर्नसिप सकिएको कागजात मागेको छ ।

यस्तै आफन्तको मृत्यु भइ काजकिरियाका लागि फर्कनु पर्ने नेपालीलाई पनि दूतावासले प्राथमिकताको सूचीमा राख्दै थप विवरण मागेको छ । उनीहरुले पासपोर्ट, कतारी आईडी कन्सुलर सेवा विभागबाट प्रमाणित मृत्युदर्ताको प्रमाणपत्र दूतावासमा उपलब्ध गराउन पर्नेछ ।

भिजिट वा बिजनेश भिसामा रहेकाले पासपोर्ट र भिसाको प्रतिलिपि, श्रम करार अवधि सकिएका वा रोजगारी गुमाए (मार्च १३ भन्दा भन्दा पहिले) ले पासपोर्ट, भिसा, कतारी आईडी करार सकिएको वा रोजगारी गुमेको देखिने कागजात, कतारको आईडी नभएका, म्याद सकिएका वा भिसा सकिएका (१३ मार्च वा योभन्दा पहिले) पासपोर्ट, भिसा, कतारी आईडीको प्रतिलिपि र भिसा सकिएको देखिने कागजात दूतावासमा उपलब्ध गराउनु पर्नेछ ।

यी कागजात दूतावासमा [email protected]  मा इमेल र दूतावासको सम्पर्क नम्बर ९७४३३५६०११७ मा ह्वाट्स्एप म्यासेज पनि गर्न सकिन्छ ।

यसरी फर्कंदा कोरोना परीक्षण गरी रिपोर्ट अनिवार्य साथमा राख्नु पर्नेछ । त्यसैले कोरोना जाँचका लागि दूतावासले व्यवस्था गर्ने जनाएको छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया