मनसुन सुरु हुन अझै १ हप्ता लाग्ने

 जेठ २८, २०७७ बुधबार ८:०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – नेपालमा सामान्यतया जुन १० तारिख अर्थात् आजबाट मनसुन सुरु हुने भए पनि यस वर्ष ढिला हुने भएको छ । नेपालमा आउने मनसुनी प्रणाली बङ्गाल खाँडीको उत्तरी भूभागमा रहेको र त्यो नेपालको पूर्वी भूभागमा आइपुग्न झण्डै एक हप्ता लाग्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

बङ्गालको उत्तरी भूभागमा रहेको मनसुनी प्रणाली एक/दुई दिनमै पश्चिमी भूभागमा आउने र एक हप्ताभित्र दार्जिलिङ हुँदै नेपालको पूर्वी भूभागमा प्रवेश गर्ने उहाँले बताउनुभयो । यस वर्ष मनसुन सुरु हुँदा भने कमजोर प्रणाली आउने देखिएको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

बलियो प्रणाली नदेखिएकोले मनसुनको सुरुवातमा सामान्य पानी पर्ने र बिस्तारै मनसुन बलियो भएर न्यून चापीय रेखा नेपाल नजिक आएपछि औसत पानी पर्ने सम्भावना देखिएको मौसमविद् कँडेलले बताउनुभयो ।

यसैबीच अहिले कर्णाली प्रदेशको सुर्खेतलगायतको ठाउँमा ठूलो वर्षा भइरहेको छ । यस्तै प्रदेश पाँच, गण्डकी प्रदेश, वाग्मती प्रदेश र प्रदेश २ को पर्सा र आसपासमा सामान्य पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो र राति देशका धेरैजसो ठाउँमा बादल लाग्ने र प्रदेश १, वाग्मती, गण्डकी र प्रदेश पाँचका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् कँडेलले बताउनुभयो । आज कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने मेघगर्जन तथा चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया