दाङ : मापदण्ड विपरीत नदीजन्य वस्तु उत्खनन्, विकास निर्माणमा लानुपर्ने सामग्री क्रसरमा

 जेठ ३२, २०७७ आइतबार ८:१९:१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा मापदण्ड विपरीत खोलाहरुबाट ढुंगालगायतका नदीजन्य पदार्थहरु उत्खनन् भएको पाइएको छ ।

जिल्लाका विभिन्न खोला तथा नदीहरुमा चार किल्ला समेत निर्धारण नगरी हचुवाको भरमा नदीजन्य पदार्थहरुको उत्खनन् गरिएको पाइएको हो ।
जिल्ला समन्वय समिति दाङले घोराहीमा पत्रकार सम्मेलन गरी खोला तथा नदीहरुबाट मापदण्ड विपरीत उत्खनन् भएका नदीजन्य पदार्थहरु निर्माण कार्यमा नभइ क्रसर उद्योगमा लगेको फेला परेको जनाएको छ ।

समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलले तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, बबई, दंगिशरण, राप्ती र गढवा गाउँपालिकाका विभिन्न खोलाहरुमा अबैधरुपमा उत्खनन्, निकासी र मनपरि मेसिनरी यन्त्रहरुको प्रयोग भएको जानकारी दिनुभयो ।

त्यसैगरी, घोराही तुलसीपुर चार लेन सडकमा प्रयोग हुने ग्राभेल ग्वारखोलाबाट उत्खनन् गरी सम्बन्धित निर्माण कार्यमा प्रयोग नगरी क्रसर उद्योगमा लगेको र वातावणीय प्रभाव मूल्याङकन नगरिएको क्षेत्रबाट उत्खनन् गरेको पाइएको उहाँले जानकारी दिनुभयो ।

यस बाहेक नदीजन्य पदार्थहरुको उत्खनन् र निकासीका लागि पालिकाहरुलाई जिम्मा दिए पनि अपेक्षा अनुसार काम गर्न नसकेको अनुगमनबाट फेला परेको समन्वय समितिले जनाएको छ ।

विकास निर्माणको काम भनेर अनुमति लिने तर क्रसर उद्योगमा पुर्‍याउने र जथाभावी उत्खनन् गर्ने गरेको उपप्रमुख पौडेलले बताउनुभयो ।
समन्वय समितिले आउँदाे असार १ गतेदेखि असोज १ गते सम्मका लागि दाङमा नदीजन्य पदार्थको उत्खनन र निकासी पूर्णरुपमा रोक लगाइएको जानकारी दिएको छ ।

समितिका प्रमुख जितेन्द्रमान नेपालीले नदीजन्य पदार्थहरुको सही ढंगले उत्खनन् र प्रयोगमा ल्याउन पालिकाहरुले नै अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने बताउनुभयो । पहुँच हुनेहरु नै नदी दोहनमा सकृय रहेको भन्दै उहाँले मनपरी रुपमा भैरहेको उत्खनन् रोक्न पालिकाहरुलाई निर्देशन दिएको समेत उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया