आइतबारदेखि फेरि मनसुन सक्रिय हुने, पूर्वतयारी र सावधानी अपनाउन आग्रह

 साउन २, २०७७ शुक्रबार ६:४८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदो हप्ता मनसुन सक्रिय हुने र बाढी पहिरोको जोखिम रहने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

आजदेखि पानी पर्ने क्रम विस्तारै बढ्ने मौसमविदको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाले सूचना निकालेर पर्सि आइतबार बेलुकीदेखि मनसुन सक्रिय हुन लागेकाले देशभरी नै झरी पर्ने र थोरै ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै आवश्यक पूर्वतयारी र विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो ।

महाशाखाकी प्रवक्ता वरिष्ठ मौसमविद् डाक्टर अर्चना श्रेष्ठका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्र्रदेश तथा प्रदेश ५ का केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै ठाउँमा ठूलो र एक दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना छ ।

विशेषगरी पर्सि बेलुकीदेखि आउँदो बुधबारसम्म मनसुन निकै सक्रिय हुने देखिएको अर्का मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यसकै प्रभावले सोमबारदेखि बुधबारसम्म प्रदेश ५ को तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदी, कर्णाली प्रदेशको भेरी, पश्चिम सेती र यसका सहायक नदीमा बाढी आउने सम्भावना छ ।

प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका मध्य पहाडी, चुरे र तराईबाट बहने नदीमा एक्कासी बाढी आउने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दा विशेष सतर्क हुनुपर्नेछ । यस्तै सोमबारदेखि बिहीबारसम्म प्रदेश १ र २ तथा वाग्मती र गण्डकी प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बुढीगण्डकी, मस्र्याङ्दी कालीगण्डकी तथा तिनका सहायक नदीमा बाढीको उच्च जोखिम छ ।

यी ठाउँमा आउँदो शुक्रबारसम्म नै बाढी र पहिरोको जोखिम भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन मौसमविद्को सुझाव छ । मौसमविद् श्रेष्ठका अनुसार आजदेखि पानी पर्ने क्रम विस्तारै बढ्नेछ । मनसुन सक्रिय हुँदै गएकाले हिजोको भन्दा आज दिउँसो, दिउँसोको भन्दा राती पानी पर्ने क्रम बढ्दै जाने उहाँको भनाई छ ।

विशेषगरी प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने उहाँले जानकारी दिनुभयो । मौसम सम्बन्धी केही जानकारी लिन महाशाखाको फोन नम्बर ०१-४११३१९१ मा र बाढीबारे जानकारी लिन ११५५ मा फोन गर्न सकिनेछ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया