सबैभन्दा धेरै वर्षा भएका ५ ठाउँ, कहाँ कति वर्षा ?

 साउन ६, २०७७ मंगलबार २०:०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आइतबारदेखि देशका सबैजसो ठाउँमा लगातार झरी पर्न सुरु भयाे । मङ्गलबार भने झरी पर्न रोकिएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा दिउँसो केहीबेर घाम पनि लाग्यो । तर फेरि राति पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

तीन दिन लगातार परेको वर्षाका कारण धेरै ठाउँमा बाढी पहिरो गएको छ । सबैभन्दा धेरै नवलपरासीको डण्डामा वर्षा भएको वरिष्ठ मौसमविद् डाक्टर इन्दिरा कँडेलले बताउनुभयो । नवलपरासीको डण्डामा तीन दिनमा तीन सय ५१ दशमलव २ मिलिमिटर पानी परेको छ । डण्डामा मङ्गलबार एक सय पाँच दशमलव ८ मिलिमिटर, सोमबार एक सय ५७ दशमलव ८ मिलिमिटर र आइतबार ८७ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । 

नवलपरासीको डण्डापछि बाराको कोल्भीमा सबैभन्दा धेरै वर्षा भएको छ । कोल्भीमा तीन दिनमा तीन सय २५ मिलिमिटर वर्षा भएको छ । वरिष्ठ मौसमविद् कँडेलका अनुसार मङ्गलबार कोल्भीमा एक सय ६८ दशमलव ८ मिलिमिटर वर्षा मापन गरिएको छ । सोमबार एक सय ५६ मिलिमिटर र आइतबार शून्य दशमलव २ मिलमिटर मात्र वर्षा भएको छ । 

यस्तै सबैभन्दा धेरै वर्षा भएको सूचीमा कास्की तेस्रो स्थानमा छ ।  आइतबारदेखि मङ्गलबारसम्म कास्कीको घारे ढुङ्गामा तीन सय एक दशमलव ४ मिलिमिटर पानी परेको छ । मङ्गलबार एक सय १९ दशमलव ४ मिलिमिटर, सोमबार एक सय ६९ मिलिमिटर र आइतबार २४ मिलिमिटर वर्षा भएको तथ्याङ्क छ । 

यसैगरी गोरखाको आरुघाटमा तीन दिनमा दुई सय ८१ मिलिमिटर वर्षा भएको छ । मङ्गलबार एक सय ६० दशमलव २ मिलिमिटर वर्षा भएको आरुघाटमा सोमबार एक सय ११ दशमलव ६ मिलिमिटर र आइतबार नाै दशमलव २ मिलिमिटर वर्षा भएको छ । 

यस्तै सबैभन्दा धेरै वर्षा भएको सूचीको पाँचौ स्थानमा मकवानपुरको मकवानपुरगढी छ । त्यहाँ तीन दिनमा दुई सय ६६ दशमलव २ मिलिमिटर पानी परेको छ । मङ्गलबार एक सय ९९ दशमलव २ मिलिमिटर, सोमबार ५९ मिलिमिटर र आइतबार आठ मिलिमिटर वर्षा भएको छ ।   

मौसमसविद्ले यसपाली आंशिकभन्दा धेरै वर्षाको सम्भावना रहेकाले बाढी पहिरोको जोखिम अझै रहेकाले सावधानी अपनाउन सुझाव दिएका छन् ।  

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया