अमरगढी नगरपालिका स्मार्ट सिटी बन्ने

 साउन २०, २०७५ आइतबार १९:४९:५२ | तपेन्द्र बिष्ट
unn.prixa.net

डडेल्धुरा – अमरगढी नगरपालिका अब स्मार्ट सिटी बन्ने भएको छ ।

देशका विभिन्न दश शहरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने सरकारको लक्ष्य अनुरुप अमरगढी नगरपालिकालाई स्मार्ट सिटी बनाउने प्रारम्भीक छलफल सुरु भएको छ । आइतबार नगरपालिकामा यसको गुरु योजना (माष्टर प्लान) तयार गर्ने विषयमा सुझाव संकलन कार्य थालिएको छ । 

शहरी विकास मन्त्रालय अन्तरगतको नयाँ शहर आयोजना समन्वय कार्यालय काठमाडौँको एक टोलीले अमरगढीमा स्मार्ट सिटीको गुरु योजना (माष्टर प्लान) तयार गर्ने भएको छ । 

स्मार्ट सिटी निर्माणका लागि परामर्शदाताहरुसँग छलफल गरी विस्तृत योजना प्रतिवेदन तयार गर्ने नगर प्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी दिनु भएको छ । उहाँले चुनावका बेला आफूले यही एजेन्डा लिएर नागरिक माझ गएको हुँदा जसरी पनि अमरगढी नगरपालिकालाई स्मार्ट सिटीका रुपमा विकास गरिने बताउनु भएको छ । 

पर्यटकीय, व्यापारिक र कृषि उत्पादनका लागि प्रख्यात ठाउँहरुलार्ई थप व्यवस्थित बनाई स्मार्ट सिटीको परिकल्पना गरिएको नयाँ शहर आयोजना समन्वय कार्यालय काठमाडौंका इञ्जिनियर कृष्णकुमार महर्जनले बताउनुभयो । उहाँले स्मार्ट सिटी हुनलाई आवश्यक भवन, विद्युत, खानेपानी, फोहोर व्यवस्थापन, यातायात सेवा, शिक्षा सरकारदेखि नागरिकसम्म स्मार्ट हुनुपर्ने बताउनु भएको छ ।

स्मार्ट सिटीका परामर्शदाता अरुणा तन्डुकारले स्मार्ट सिटी भइसकेपछि समयको बचत, पूर्वाधारको विकास, आईसीटीको प्रयोग, सेवाको गुणस्तरका वृद्धि हुने बताउनुभयो । नगरपालिकाको विभिन्न क्षेत्रका तथ्याङ्कहरु संकलन गरेर अब गुरु योजना बनाउने भएको हो । अबको ४५ दिन भित्रै तथ्याङ्क सङ्कलन गर्ने, ७० दिन भित्रै डीपीआर तयार गर्ने त्यसको २० दिन भित्रै गुरु योजना तयार पारेर स्मार्ट सिटीको विकास गरिने परामर्शदाता तन्डुकारले बताउनुभयो ।

यसअघि सरकारले १३ स्थानका सहरमा स्मार्ट सिटी निर्माण गर्ने योजना अघि सारेको थियो । १३ मध्ये पहिला लुम्बिनी, पालुङटार र निजगढ स्मार्ट सिटीको रुपमा निर्माण भइसकेको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपेन्द्र बिष्ट

डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया