बाढी पहिरो अपडेटः पछिल्लो २४ घण्टामा देशभर १३ जनाको ज्यान गयो, १७ जना अझै बेपत्ता

 भदौ ३, २०७७ बुधबार १९:५१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – पछिल्लो २४ घण्टामा बाढी पहिरोका कारण देशका विभिन्न ठाउँमा ज्यान गुमाउनेकाे सङ्ख्या १३ जना पुगेकाे छ ।

बाढी पहिराेमा परेर १७ जना हराइरहेका छन् भने १८ जना घाइते भएका छन् । ३० वटा घर पूर्णरुपमा भत्किएका छन् । बाढी र पहिरोका कारण अछाममा ६, बझाङमा दुई, दैलेखमा दुई, बाजुरा दुई र सुर्खेतमा एक जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

अछामको रामारोशन गाउँपालिका ५ मा बाढी पहिरोमा परेकामध्ये अहिलेसम्म ६ जनाको शव भेटिएकाे छ । हराइरहेका ११ जनाको खोजी बिहीबार बिहानदेखि फेरि सुरु गरिने गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउँदले जानकारी दिनुभयो ।

रामारोशन गाउँपालिकामा तत्काल राहत र उद्धारको काम अघि बढाउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओली र गृह मन्त्री रामबहादुर थापासँग बुधबार छलफल गर्नुभएको छ ।

यस्तै दैलेखका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण दुई जनाको ज्यान गएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिका ५ रुप्साको जात्तडामा पहिरोले दुई घर बगाउँदा हराएका चारै जनाको परिचय खुलेको छ । नरहरिनाथ ५ का ५५ वर्षीय चन्द्र सहकारी, २७ वर्षीया चम्फा सहकारी, ३० वर्षीया झिमा सहकारी र १२ वर्षीय रमित सहकारी पहिरोमा परेर हराएका जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

बझाङको बुङ्गल नगरपालिका ५ मा पहिरोले घर बगाउँदा हराएका दुई जना बालकको शव भेटिएको छ । यस्तै बाजुराको बुढीनन्दा नगरपालिका ६ मा पहिरोले घर भत्काउँदा ५५ वर्षीया भिनु ल्वार र खप्तड छेडेदह गाउँपालिका ५ की तीन वर्षीया सनीका बुढाको ज्यान गएको छ ।

बाढी पहिराेका कारण सुर्खेतमा पनि एक जनाको ज्यान गएको छ । वर्षासँगैको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग पनि बन्द भएका छन् । 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया