गण्डकी र प्रदेश ५ का केही ठाउँमा ठूलो वर्षा, ‘नसोचेको ठाउँमा बाढी पहिरोको खतरा’

 असोज ६, २०७७ मंगलबार १६:५७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मङ्गलबार देशका धेरै ठाउँमा पानी परेको छ । अहिले पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् मीनकुमार अर्यालका अनुसार देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका केही ठाउँमा भने ठूलो वर्षा भएको उहाँले बताउनुभयो ।

मङ्गलबार राति पानी पर्ने क्रम अझ बढ्ने पनि उहाँले बताउनुभयो । मङ्गलबार राति गण्डकी र ५ नम्बर प्रदेशसहित अरु प्रदेशमा पनि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् अर्यालले बताउनुभयो । बुधबार र बिहीबार पनि पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको खतरा रहेको उहाँले बताउनुभयो ।

भदौको अन्तिम महिनातिर चर्को घाम लागेकाले अहिले सामान्य पानी पर्दा पनि पहिरो जाने खतरा हुने उहाँले बताउनुभयो । भूकम्पले जमिनको भित्री भाग चर्किएकाले भूकम्प प्रभावित पहाडी जिल्लामा पहिरोको बढी खतरा रहेकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

मौसमविद् अर्यालका अनुसार अहिलेको पानीले नसोचेको ठाउँमा पहिरो जाने जोखिम हुन्छ । यस्तै बाढी पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार रातिदेखि आउँदो १० गतेसम्म नै देशका धेरैजसो नदीमा पानीको बहाव बढ्ने सम्भावना छ ।

बाढीको जोखिम रहेकाले ११ गतेसम्म नदी तटीय क्षेत्रका क्रियाकलाप नगर्न वा सतर्कता अपनाउन सार्वजनिक सूचनामार्फत बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुर तथा गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, स्याङ्जा र नवलपुरमा बाढी पहिरोको उच्च जोखिम रहेको छ ।

त्यस आसपासका अन्य जिल्लासमेत जोखिममा रहेको छ । महाशाखाले कन्काई, वाग्मती, तिनाउ, वाणगङ्गा, पश्चिम राप्ती, बबईका सहायक नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावको सम्भावना रहेको जनाएको छ । यस्तै पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, सल्यान, सुर्खेत र दैलेख जिल्ला पनि बाढी पहिरोको जोखिममा रहेको महाशाखाले जनाएको छ ।

बाढी पहिरोको जोखिम उच्च रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया