देशभर जाडो बढ्यो : न्यूनतम तापक्रम अझै घट्न सक्ने

 पुष १, २०७७ बुधबार ७:२७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशभर चिसो बढेको छ । चिसो अझै बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

गएको वर्षभन्दा यो वर्ष अझै चिसो हुन सक्ने मौसमविद् श्रेष्ठ बताउनुहुन्छ । काठमाण्डौमा अघिल्लो वर्ष पुस १ गतेको तुलनामा आज १ दशमलव ५ डिग्री सेल्सियस कम तापक्रम मापन गरिएको छ । आज बिहानको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ । गएको वर्ष आजको दिन काठमाण्डौको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो ।

मौसमविद श्रेष्ठका अनुसार दिउँसो तापक्रम अझै घट्न सक्छ । काठमाण्डौसहित देशका अरु ठाउँमा पनि तापक्रम घट्दै गएर जाडो बढेको छ । हिजो जुम्लाको न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियससम्म झरेको थियो । यस्तै जिरीको माइनस २ दशमलव ५, जोमसोमको माइनस २, काठमाण्डौको ३, ओखढुङगा र ताप्लेजुङको ५ दशमलव ४, दिपायलको २ दशमलव ८, डडेल्धुराको ३ दशमलव ४, बीरेन्द्रनगरको ४ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो ।

आजको तापक्रम पनि यस्तै हाराहारीमा रहने महाशाखाले जनाएको छ । यसैबीच अहिले पूर्वी र पश्चिमी तराईका केही ठाउँमा कुहिरो लागेको छ । दिउँसो कुहिरो हटेर घाम लाग्ने सम्भावना छ । पश्चिमी वायुको प्रभावका कारण आज प्रदेश १, २ र गण्डकी प्रदेशमा आँशिकदेखि सामान्य बदलीको सम्भावना र बाँकी ठाउँमा दिउँसो घाम लाग्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति पहाडी भेगमा आँशिक बदली रहने छ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया