चक्रवातको असर : पश्चिममा पानी पर्ने र उच्च हिमाली केही क्षेत्रमा हिमपातको सम्भावना

 जेठ ५, २०७८ बुधबार ७:२३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशभरको मौसम बदली भएको छ । अहिले कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँ तथा देशका अरु एक/दुई ठाउँमा पानी परिरहेको छ ।

भारतको गुजरात आसपासमा रहेको चक्रवात ताउ–ते र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतमा बनेको चक्रवातको असर अस्तिदेखि नेपालमा पनि परेको छ । तर चक्रवात विस्तारै कमजोर बन्दै गएको र उत्तर–पूर्वतर्फ सरिरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कंडेलले बताउनुभयो ।

आज दिउँसोपख पनि मौसम बदलीकै अवस्था रहनेछ । कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा एक/दुई ठाउँमा ठूलो र अरु ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । बाँकी वाग्मती, प्रदेश दुई र एकका पहाडी केही ठाउँमा मेघगर्जन/चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको ।

उच्च हिमाली केही ठाउँमा हिमपात र वर्षाको सम्भावना छ । त्यस्तै आजराति पनि पश्चिमका केही ठाउँमा ठूलो पानी पानी पर्ने र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रमा कतै ठूलो पानी पर्ने र हिमाली क्षेत्रमा हिमपात हुने भएकाले खोलामा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

मेघगर्जन र हावाहुरीसहित पानी पर्ने, खोलामा पानीको सतह बढ्ने भएकाले घरबाहिर निस्कँदा या कतै यात्रा गर्दा सुरक्षित रहन मौसमविद् कंडेलले आग्रह गर्नुभयो । पर्सि शुक्रबारसम्म नदीतटीय क्षेत्रमा विशेष सावधानी अपनाउन बाढी सूचना केन्द्रले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया