काठमाण्डौ उपत्यकासहित देशका सबैजसो ठाउँमा तापक्रम बढ्यो, प्रशस्त पानी पिउन विज्ञको सुझाव

 जेठ २२, २०७८ शनिबार १५:४०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गर्मी बढेको छ । आज काठमाण्डौको तापक्रम ३० डिग्री आसपास रहेको छ । हिजो २९ दशमलव ४ डिग्री सेल्सियस थियो भने अस्ति ३१ डिग्री सेल्सियस थियो ।

मौसमविद् मिनकुमार अर्यालका अनुसार उपत्यकासहित देशका प्राय सबैजसो ठाउँमा तापक्रम बढेको छ । उहाँका अनुसार तराईका जिल्लाको तापक्रम ३४–३५ डिग्री सेल्सियस भन्दा माथि छ । केही ठाउँको मौसम आंशिक बद्ली भए पनि जमिन तात्तिएकाले गर्मी महसुस भएको मौसमविद्ले बताएका छन् । केही दिनसम्म मौसम बद्ली भई पानी परेको र त्यस पछि मौसम सफा भई घाम लागेकाले जमिन तात्तिँदा बढी गर्मी महसुस भएको मौसमविद् अर्यालले बताउनुभयो ।

मौसम सफा भएर जमिन तात्तिएकाले रातको समयमा पनि गर्मी महसुस हुन थालेको छ । एक दुई दिन मौसम यस्तै रहने अनुमान छ । तर, प्रि मनसुनको समय भएकाले दिउँसो पछि केही ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । आउँदो मंगलबारदेखि भने प्रि मनसुन थप सक्रिय भएर धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।

यसैबीच, गर्मी बढेकाले प्रशस्त पानी पिउन डाक्टरले सुुझाव दिएका छन् । गर्मीको बेला शरीरमा पानीको अभाव हुँदा स्वास्थ्य समस्या देखिने र केहीलाई डिहाइड्रेशनको समेत हुन सक्ने डाक्टरले बताएका छन् । डिहाइड्रेशनका कारण व्यक्तिको सोच्ने क्षमता र रक्तसञ्चारमा कमी आउन सक्छ । गर्मीको समयमा पानीसँगै प्रशस्त पानी पाइने फलफूल र तरकारी खान डाक्टरको सुझाव छ । खर्बुजा, मेवा, गोलभेडा, मुला, गाजर जस्ता शरीरलाई शीतल दिने फलफूल र तरकारी खान विज्ञको सल्लाह छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया