बाढीबारे थाहा पाउन ११५५ मा फोन गर्नुहोस्

 असार २, २०७८ बुधबार ७:२६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मनसुन सुरु भएसँगै बाढी पहिरोका घटना बढ्न थालेका छन् । आइतबारदेखिको झरीले देशका धेरै नदी खोलामा बाढी आएको छ । अझै केही दिन ठूलो पानी पर्ने सम्भावना भएकाले बाढीको जोखिम अझै बढ्ने मौसमविदले बताएका छन् ।

बाढी पहिरोबाट हुने जनधनको क्षति रोक्न पूर्व सूचना प्रणालीलाई व्यवस्थित गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार वर्षा र बाढीबारेको जानकारी थाहा पाउन ११५५ नम्बरमा फोन गर्न सकिन्छ । यस्तै ११४९ नम्बरमा फोन गरेर उद्धारको लागि सहायता माग्न सकिन्छ ।

यस वर्ष बाढी तथा पहिरो दुवैको पूर्वानुमान गर्न सकिनेगरी प्रणालीको विकास गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पहिलेका वर्षहरुमा बाढीको मात्र पूर्वानुमान गर्ने गरिएकोमा यस वर्षदेखि पहिरोको पनि पूर्वानुमान गर्न सकिने सूचना प्रणाली विकास गरिएको छ । पहिरोको अति जोखिम रहेका नौ जिल्लामा यो प्रणाली विकास गरिएको पनि प्राधिकरणले जनाएको छ ।

यो प्रणालीबाट जोखिममा रहेका जिल्लामध्ये कुनकुन ठाउँमा पहिरोको जोखिम बढी छ र त्यहाँ कति पानी पर्दा पहिरो जान सक्छ भन्ने यकिन गर्न सक्छ । यकिन भैसकेपछि सूचना एकीकृत गरी राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्र हुँदै जिल्ला र स्थानीय तहसम्म घटनाको सम्भावनाबारे जानकारी दिने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ । यसरी पूर्वानुमान भएसँगै जोखिम क्षेत्रमा रहेका व्यक्तिलाई त्यहाँबाट अन्यत्र व्यवस्थापन गर्नेगरी तयारी गरिएको छ ।

यस्तै जल तथा मौसम विज्ञान विभागको वेबसाइटमार्फत वर्षा र बाढीको अवस्था तथा पूर्वानुमान पनि दिने गरिएको छ । बाढी सम्भावित क्षेत्रमा साइरन बजाएर तथा एसएमएस पठाएर पनि सावधानी अपनाउन आग्रह गर्ने गरिएको विभागले जनाएको छ । यस वर्ष देशभर गएको वर्षभन्दा बढी पानी पर्ने मौसमविदले यसअघि नै बताइसकेका छन् । दार्चुला, बैतडी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, डोटी, दैलेख, डोल्पा, हुम्ला, जुम्ला, जाजरकोट, अर्घाखाँची, बागलुङ, भोजपुर, धादिङ, गोर्खा, गुल्मी, इलाम, काभ्रेपलाञ्चोक, कास्की, खोटाङ, लमजुङलगायतका जिल्लामा पहिरोको जोखिम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार कञ्चनपुर, कैलाली, बाँके, दाङ, रौतहट, सिरहा, सप्तरी, पर्सा, मोरङ, चितवनलगायतका अधिकांश जिल्लामा बाढी तथा डुबानको जोखिम रहेको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया