कास्की, तनहुँ र भैरहवामा ठूलो वर्षा : भोलिदेखि मनसुन थप सक्रिय हुने

 असार १५, २०७८ मंगलबार ८:१४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशका धेरै ठाउँमा रातिदेखि पानी परेको छ । प्रदेश-१, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति कास्की, तनहुँ र भैरहवामा सबैभन्दा ठूलो पानी परेको थियो । 

सबैभन्दा धेरै पोखरामा गएराति १ सय ३२ मिलीमिटर वर्षा भएको छ भने लमजुङको घोरेढुङ्गा र छिटीमा ८२ मिलीमिटरसम्म पानी परेको छ । यस्तै तनहुँ, भैरहवा विमानस्थललगायत आसपासका क्षेत्रमा ५० मिलीमिटरभन्दा धेरै पानी परेको छ । 

अहिले त्यस क्षेत्रमा पानी पर्न रोकिएको छ । तर, दिउँसोपछि फेरि पानी पर्ने प्रणाली सक्रिय हुन थालेकाले नदी तथा खोला आसपास क्षेत्रका मानिसहरु सजग हुनुपर्ने मौसमविद् निराजन सापकोटाले बताउनुभयो । गएराति ठूलो पानी परेकोले मर्स्याङ्दी नदीको बहाव बढिरहेको छ ।

यसैबीच भोलिदेखि मनसुन थप सक्रिय हुने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहेकाले भोलिदेखि मौसम सक्रिय भइ प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि ठूलो वर्षा हुने महाशाखाको पूर्वानुमान छ । देशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने भएकाले पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको सम्भावनासमेत रहेको छ । नदी तथा खोलानालामा पानीको सतह बढ्ने र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले अलिअलि मात्र सक्रिय मनसुन भोलिदेखि देशको पूर्वी तथा मध्य भू–भागहरूमा सक्रिय भएर वर्षा हुने सम्भावना देखिएको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । 

भोलिदेखि १९ गतेसम्म सप्तकोशीका सहायक नदीहरु तमोर, सुनकोशी, नारायणीका सहायक नदीहरु त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी लगायत वाग्मती, कन्काई, कमलामाई तथा प्रदेश-१, प्रदेश-२, वाग्मती र गण्डकी प्रदेशका मध्यपहाडी, चुरे तथा तराईका ससाना खोलाहरुमा आकस्मिक बहाव आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया