हिंसा न्यूनिकरण गर्न स्कुल स्कुलमा प्रहरी अभियान

 भदौ २६, २०७५ मंगलबार १०:४१:४३ | अर्जुन श्रेष्ठ
unn.prixa.net

धादिङ – जिल्ला प्रहरी कार्यालय धादिङले स्कुल स्कुलमा प्रहरी अभियान सञ्चालन गरेको छ । समाजमा घट्ने यौनजन्य अपराधिक तथा घरेलु हिंसा न्यूनिकरणका लागि सचेतना कार्यक्रम सुरु गरिएको हो । 

बलात्कार तथा हिंसाका सिकार अधिक मात्रामा बालिकाहरु हुने गरेका कारण विद्यालयलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक ( एसपी ) डम्बर बहादुर विकले बताउनुभयो । महिला, बालिकालाई मात्र नभएर बालक तथा पुरुषलाई पनि कानुन र सचेतना आवश्यक हुने हुदाँ स्कुल स्कुलमा प्रहरी कार्यक्रम सञ्चालन गरिएको र सोमबारदेखि सुरु गरिएको अभियान एक महिनासम्म चल्ने विकको भनाई छ ।  

भदौ १ गतेदेखि सञ्चालनमा आएको नयाँ कानुनका विषयमा पनि जानकारी दिने र सबै महिला दिदिबहिनीको सम्मानजनक बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि हो, हाम्रो यो अभियान उहाँले बताउनुभयो । आफ्नै आफन्त र चिरपरिचित मानिसबाटै हिंसा हुने गरेको तथ्याङ्कका कारण यस्ता हिंसा न्यूनिरकणका लागि विद्यालयलाई रोजेका हौं । 

बालबालिकाले आफूले जानेका कुरा साथीभाई तथा घर परिवारमा शेयर गर्ने हुदा हिंसा न्यूनिकरणमा सहयोग पुगी सभ्य र समृद्ध समाज निर्माण गर्न सहयोग पुग्ने अपेक्षा रहेको उहाँले बताउनुभयो । अपराध भैसकेपछि अपराधिलाई बचाउन खोज्नेहरुका कारण पनि न्यायमा पहुँच पर्‍याउन कठिन रहेको विकको भनाई छ । कानुनले कसैलाई काखा र कसैलाई पाखा नगर्ने हुदा हिंसामुक्त समाज निर्माण गर्न सबैबाट सहयोग भए न्याय दिलाउन सम्भव हुने उहाँले बताउनुयभो ।

यौनजन्य तथा घरेलु हिंसाका घटनाका उजुरी दिनप्रतिदिन बढेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक (डिएसपी) श्यामकुमार महतोले बताउनुभयो । ०७३÷०७४ मा यौनजन्य अपराधका घटना ३६, घरेलु हिंसाका घटना १६६, ०७४÷०७५ मा  यौनजन्य अपराधका घटना ३१, घरेलु हिंसाका घटना १८७ र हालसम्म ०७५÷०७६ मा यौनजन्य अपराधका घटना ६, घरेलु हिंसाका ४३ वटा घटनाहरु आइसकेका छन् । चेतना अभिवृद्धिसँगै न्याय खोज्नेको संख्यामा वृद्धि भएको उहाँको भनाइ छ । 

धादिङमा यौनजन्य अपराधका घटना ११–१८ वर्षसम्मका बालिकाहरुमा हुने गरेका कारण स्कुल स्कुलमा प्रहरी कार्यक्रममा जोड दिएको महतोले बताउनुभयो । ०७३ सालदेखि हालसम्मको तथ्याङ्कलाई हेर्दा १० वर्षसम्म १५ प्रतिशत, ११–१८ वर्षसम्म ४९ प्रतिशत, १९–६० वर्षसम्म ३३ प्रतिशत र ६० भन्दा माथिका ३ प्रतिशत यौनजन्य अपराधका घटना रहेको उहाँले बताउनुभयो । 

जिल्लाको सदरमुकाममा रहेको नीलकण्ठ उच्च माध्यामिक विद्यालयबाट स्कुल स्कुलमा प्रहरी अभियान कार्यक्रमको सुरुवात गरिएको हो । सचेतना कार्यक्रममा बसी सकेपछि आफुलाई दङ्ग लागेको विद्यालयमा अध्ययनरत छात्रा विपना श्रेष्ठले बताउनुभयो । के गर्‍यो भने हिंसा हुने रहेछ भन्ने थाहा भयो अव त प्रतिकार न्याय खोज्न सकिन्छ । थाहा नभएर हिंसामा पर्ने रहेछौं । घर परिवारमा अरुलाई नि भन्छु हाँस्दै उहाँले बताउनुभयो ।

त्यस्तै, जिल्लाको केन्द्रमा रहेको विद्यालय भएका कारण विद्यार्थीको चाप बढी छ । धेरै विद्यार्थीले यौन तथा घरेलु हिंसाका विषयमा जानकारी पाएको प्रधानाध्यापक विष्णु सिलवालले बताउनुभयो । हिजो आज कितावी ज्ञान भन्दा पनि व्यवहारिक शिक्षाको आवश्यक रहेको बताउदै यसलाई उदाहरणको रुपमा लिन सकिने उहाँको भनाइ छ ।  

यस अघि जिल्ला प्रहरी कार्यालय धादिङले मुस्कानसहितको सेवा, प्रहरी मेरो साथी, टोल टोलमा प्रहरी जस्ता अभियान सञ्चालन गर्दै आइरहेको छ । स्कुल स्कुलमा प्रहरी अभियान कार्यक्रम लैङ्गिक हिंसा नियन्त्रण जिल्ला संजाल धादिङको सहकार्यमा जिल्ला प्रहरी कार्यालय धादिङले सञ्चालन गरेको हो । यस कार्यक्रम जिल्लाका सबै पालिकासँग समन्वय गरेर सबै विद्यालयमा पुर्याउने लक्ष्य रहेको प्रहरी उपरिक्षक डम्बरबहादुर विकले बताउनुभयो । 
 
 

अन्तिम अपडेट: चैत २३, २०८०

अर्जुन श्रेष्ठ

रेडियो धादिङमा काम गर्ने अर्जुन श्रेष्ठ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया