पहिरोको जोखिममा विद्यालयः विद्यार्थी भन्छन्, ‘डर मानीमानी पढ्नुपर्छ’

 असोज ५, २०७५ शुक्रबार १८:८:५४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – दोर्दी गाउँपालिका–१, भारतेमा रहेको सूर्योदय मावि पहिरोको जोखिममा रहेको छ ।

केही दिनअघि परेको वर्षाका कारण विद्यालय वरपरको जमिन भासिँदा विद्यालय पहिरोको जोखिममा परेको हो । विद्यालयमा १४ कोठासहितको एक, ६ कोठासहितको एक भवन, २ कोठासहितको २ भवन रहेका छन् ।

२०७२ सालको भूकम्पले १४ कोठे भवनमा क्षति पुर्याएको थियो । भूकम्पबाट क्षति पुगेको भवन पहिरोको जोखिममा छ । तर पनि यही भवनमा जोखिम मोलेरै पठनपाठन भइरहेको छ । १४ कोठासहितको भवन पछाडि पहिरो खसेको छ ।

‘१४ कोठे भवनमा भूकम्पले पनि क्षति पुर्यायो । भूकम्पकै कारण ३ वटा कोठा क्षतिग्रस्त छ । ३ कोठा उपयोगमा आएको छैन । झनै भवन अहिले पहिरोको जोखिममा छ,’ विद्यालयका अङ्ग्रेजी शिक्षक अनिल अधिकारीले भन्नुभयो ।

उहाँका अनुसार यसै भवनमा कम्प्युटर ल्याब, साइन्स ल्याब, पुस्तकालय र कार्यालय रहेको छ । ‘यसै भवनमा जोखिम मोलेरै पठनपाठन पनि भइरहेको छ,’ उहाँले भन्नुभयो । १४ कोठे भवन रेड बर्ना नेपालले बनाइदिएको हो ।

कक्षाकोठामै पहिरो

यसैगरी, साबिक जिल्ला शिक्षा कार्यालयले बनाइदिएको २ कोठे भवनमा झ्याल हुँदै कक्षाकोठाभित्रै   पहिरो पसेको शिक्षक अधिकारीले बताउनुभएको छ । 
‘झ्याल हुँदै पहिरो कक्षाकोठामै पसेको छ । पहिरोको उच्च जोखिम छ । त्यसैले यो दुईकोठे भवनमा पढाइएको छैन,’ शिक्षक अधिकारीले थप्नुभयो ।

पहिरो खस्दा विद्यालयसम्म आउने बाटो पनि अवरुद्ध भएको छ । बाटो अवरुद्ध हुँदा सिरुबारीबाट आउने विद्यार्थीलाई समस्या भएको छ । ‘पहिरोका कारण बाटो अवरुद्ध छ । घण्टौँ बढिको बाटो घुमेर विद्यालय जानुपर्छ । समस्या भएको छ । झनै विद्यालय पहिरोको जोखिममा छ । डर मानीमानी पढ्नुपर्छ’ विद्यालयको कक्षा ९ मा पढ्ने छात्रा सिरुबारीकी सुश्मिता अधिकारीले भन्नुभयो ।

समस्या समाधानका लागि पहल

यस विद्यालयमा २ सय ३ जना विद्यार्थी अध्ययनरत छन् । यहाँ भारते, सिरुबारी, लामिश्वाँरा, बिग्रा, देउराली, भारतेबेसी लगायतका ठाउँका विद्यार्थी पढ्नका लागि आउँछन् ।

पहिरोका कारण विद्यालय जोखिममा रहेकाले समस्या समाधानका लागि सम्बन्धित निकायमा पहल भइरहेको विद्यालले जनाएको छ । विद्यालयमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा लमजुङले झण्डै ५० जना विद्यार्थी पढाउन मिल्ने एउटा टेन्ट उपलब्ध गराएको छ । 
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया