यस वर्षको हिउँदमा जाडो कम हुने अनुमान

 मंसिर २७, २०७९ मंगलबार १६:९:१० | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – यस वर्षको हिउँदमा देशभर अधिकतम तापक्रम सरदरभन्दा बढी हुने र देशका धेरैजसाे ठाउँमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ । सामान्यतया सरदर वर्षा/सरदर तापक्रम भन्नाले कुनै पनि ठाउँकाे लामो समय (१९९१ देखि २०२०) को ३३ दशमलव ३ देखि ६६ दशमलव ६ प्रतिशतको वर्षा/तापक्रमलाई जनाउँदछ । 

यसैगरी सरदरभन्दा कम वर्षा/तापक्रम भन्नाले क्रमशः ३३ दशमलव ३ प्रतिशतभन्दा कम र बढी भन्नाले ६६ दशमलव ६ प्रतिशतभन्दा बढीको वर्षा/तापक्रमलाई जनाउँदछ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशको रुकुम–पश्चिम, रोल्पा, प्युठानबाहेकका जिल्ला, गण्डकी प्रदेशका लमजुङ, स्याङ्जा, तनहुँ, गोरखालगायतका मध्य तथा पूर्वी जिल्ला, बाग्मती प्रदेशको दोलखा र प्रदेश नं १ का ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बुलगायतका उत्तरी जिल्लामा न्यूनतम तापक्रम सरदर हुने र बाँकी भू–भागमा सरदरभन्दा बढी तापक्रम हुने सम्भावना रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा माैसम विज्ञान विभागले हिउँद अवधि (मङ्सिर १५ देखि फागुन १६ गते) को वर्षा तथा तापक्रमको आँकलन सार्वजनिक गरेको विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले जानकारी दिनुभयो ।

वर्षाको आँकलन  

विभागका अनुसार हिउँदमा देशका धेरैजसाे ठाउँमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ । प्रदेश नं १ का ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरीलगायतका पूर्वी तथा तराईका जिल्ला, मधेस प्रदेशका पर्सा, बारा, रौतहटलगायतका पश्चिमी भू–भाग, बाग्मती प्रदेशका काभ्रेपलाञ्चोक, काठमाण्डाै, ललितपुर, भक्तपुर, नुवाकोट, मकवानपुरलगायतका जिल्ला, गण्डकी प्रदेशका कास्की, स्याङ्जा, पर्वतलगायतका मध्य तथा दक्षिणी जिल्ला, लुम्बिनी प्रदेशका धेरैजसाे जिल्ला र सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, कञ्चनपुर र कैलालीलगायतका जिल्लामा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशका बझाङ र बाजुरा तथा कर्णाली प्रदेशका हुम्ला, मुगु र डोल्पाको उत्तर–पश्चिमी भू–भागबाहेक देशका अन्य बाँकी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

अधिकतम तापक्रमको आँकलन

यसैगरी यस हिउँदमा देशभर अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना रहेको वरिष्ठ मौसमविद् कँडेलले बताउनुभयो । कर्णाली प्रदेशको हुम्ला र मुगुका पश्चिमी भू–भाग र सुदूपश्चिम प्रदेशका बाजुरामा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको विभागको तथ्याङ्क छ ।

प्रदेश नं १ का सोलुखुम्बु तथा इलाम, झापा, मोरङ र सुनसरीलगायतका दक्षिणी जिल्ला, बाग्मती प्रदेशका काभ्रेपलाञ्चोक, काठमाण्डाै, ललितपुर, भक्तपुर, नुवाकोट, मकवानपुर, चितवनलगायतका मध्य तथा दक्षिण–पश्चिम जिल्ला, मधेस प्रदेशको पर्सा र सप्तरी, गण्डकी प्रदेशका उत्तर–पूर्वी जिल्लाबाहेकका धेरैजसाे जिल्ला, लुम्बिनी प्रदेशका धेरैजसाे भू–भाग र कर्णाली प्रदेशका पूर्वी तथा उत्तरी भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ । बाँकी भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

न्यूनतम तापक्रमको आँकलन

यसैगरी सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशको रुकुम–पश्चिम, रोल्पा, प्युठानबाहेकका जिल्ला, गण्डकी प्रदेशका लमजुङ, स्याङ्जा, तनहुँ, गोरखालगायतका मध्य तथा पूर्वी जिल्ला, बाग्मती प्रदेशको दोलखा र प्रदेश नं १ का ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बुलगायताका उत्तरी जिल्लामा न्यूनतम तापक्रम सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । बाँकी भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

आँकलनको आधार

विभागले यस आँकलन विश्व मौसम सङ्गठनको विश्वभर क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारूपको आँकलन, जल तथा मौसम विज्ञान विभागको हावापानी आँकलन गर्ने प्रविधि र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आँकलनको आधारमा तयार गरेको हो । साथै नेपालको हिउँद अवधिको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने 'एन्सो' तथा हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको अहिलेकाे अवस्था तथा जलवायु प्रारूपहरूको हिउँद अवधिको आँकलन र अन्तरऋतु परिवर्तनशीलताका कारकलाई समेत मध्यनजर गरि तयार गरिएको छ ।

अहिले प्रशान्त महासागरमा 'लानिना' अवस्था रहेको देखिएको छ र आउँदाे हिउँद अवधिमा पनि लालिना कायम रहने आँकलन गरिएको छ । त्यसैगरी हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय सामुद्रिक तापक्रम सूचक अहिले तटस्थ रहेको र हिउँद अवधिभर तटस्थ नै रहने आँकलन गरिएको छ ।

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया