उद्योगमा तत्काल विद्युत् आपूर्ति नरोक्न प्रधानमन्त्री प्रचण्डकाे निर्देशन

 भदौ २५, २०८० सोमबार १३:२४:५४ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेकाले यसबारे निर्क्याेल नभएसम्म उद्योगमा आपूर्ति भइरहेको विद्युत् बन्द नगर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासङ्घ पदाधिकारीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी यस्ताे निर्देशन दिनुभएको हो । 

उहाँले यससम्बन्धी विषयमा महासङ्घ, विद्युत् नियमन आयोग र प्राधिकरणलाई सँगै राखेर छिटै टुङ्गोमा पुर्‍याउने कुरामा आफूले पहल गर्ने समेत आश्वासन दिनुभयो । प्राधिकरणले उद्योगहरुलाई डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता महसुल १५ दिनभित्र चुक्ता गर्न भदौ १७ गते सूचना जारी गरेको थियो । याे सूचनामा बक्यौता महसुल चुक्ता नगर्ने उद्योगहरुको विद्युत् आपूर्ति बन्द गर्ने जनाएको थियो । 

महासङ्घले अहिलेको आर्थिक सङ्कटको समयमा उद्योग व्यवसायहरु ४० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भइरहेको हुँदा उद्योग व्यवसायलाई जोगाउन विशेष पहल गर्नुपर्ने सुझाव दिएको छ ।

'यो समयमा हामीलाई सहयोग र समर्थन चाहिएको छ', महासङ्घ अध्यक्ष ढकालले भन्नुभयो, 'थप समस्या सिर्जना गरिदिनु भएन भन्ने हाम्रो माग हो ।' कोभिड महामारीपछि उद्योग व्यवसाय निरन्तर सङ्कटमा रहेको र यस अवस्थामा उद्योग व्यवसायको विद्युत् काट्दा व्यवसायी थप हतोत्साही हुने महासङ्घको भनाइ छ ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया