लगानी बाेर्ड बैठक : अरुण तेस्राे प्रवेश मार्गको समस्या समाधान गर्ने सम्बन्धमा मन्त्रिपरिषद्‍मा सिफारिस गर्ने निर्णय

 असोज ३०, २०८० मंगलबार १७:३२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगानी बाेर्डले सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्राे जलविद्युत् परियोजनाको प्रवेश मार्ग (छ्याङ्‍कुटी-दिदिङ्ग) सडक खण्डको समस्या समाधान गर्ने सम्बन्धमा मन्त्रिपरिषद्‍मा सिफारिस गर्ने निर्णय गरेको छ । आज मङ्गलवार प्रधानमन्त्री एवम् बाेर्डका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे अध्यक्षतामा बसेकाे ५६ औँ बैठकले याे निर्णय गरेकाे हाे ।

विकासकर्ता एसजेभीएन पावर डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडले १ खर्ब ४४ अर्ब रुपैयाँ लागतमा निर्माण गरिरहेको यस परियोजनाको भौतिक प्रगति ६६ दशमलव ३ प्रतिशत र प्रसारण लाइनतर्फ १५ दशमलव ४६ प्रतिशत रहेको छ ।

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डबाट सम्पादित गतिविधिहरू तथा ५५ औँ बोर्ड बैठकको निर्णयहरूको कार्यान्वयन अवस्था र ५६ औँ बोर्ड बैठकका कार्यसूचीका सम्बन्धमा संक्षेपमा प्रस्तुतीकरण गर्नुका साथै परियोजना विकास सम्झौताका करारीय दायित्व पूरा गर्न सरकारको सिङ्गो संयन्त्रले प्रभावकारी कदम चाल्नुपर्ने धारणा राख्‍नुभयो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले अरुण तेस्राे सार्वजनिक–निजी साझेदारी अवधारणामा कार्यान्वयन भइरहेको विदेशी लगानीको परियोजना भएकाले यसको सहज र सफल कार्यान्वयन तथा प्रभावकारी सहजीकरणले विदेशी लगानीको अनुकूल वातावरण रहेको सन्देश प्रवाहित हुने भएकाले परियोजना समयमा सम्पन्न गर्न आवश्यक सहजीकणका लागि सम्बन्धित निकायहरूले प्रभावकारी समन्वयसहित चुस्त ढङ्गले काम गर्न निर्देशन दिनुभयो ।

बोर्ड बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, निजी क्षेत्रका विज्ञ सदस्यहरू भवानी राणा, हरिभक्त शर्मा र राजेशकाजी श्रेष्ठ लगायत सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया