चालु आर्थिक वर्षकाे ३ महिनामै सरकार झन्डै ४६ अर्ब रुपैयाँले घाटामा

 कात्तिक १, २०८० बुधबार १६:२६:२७ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा सरकारको राजस्व सङ्कलन र बजेट खर्च दुवैको अवस्था न्यून देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको १५ दशमलव ९३ प्रतिशत राजस्व सङ्कलन गरेको छ भने १६ दशमलव ०२ प्रतिशत बजेट खर्च गरेको छ ।

चालु आवका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । पहिलो त्रैमासिक अवधिमा २ खर्ब ८० अर्ब ५७ करोड २५ लाख रुपैयाँ बराबर बजेट खर्च भएको छ । याे खर्च वार्षिक विनियोजनको १६ दशमलव २ प्रतिशत बराबर हो ।

यो अवधिमा सरकारले चालुतर्फ १८ दशमलव ६९, पुँजीगततर्फ ५ दशमलव ९ र वित्तीय व्यवस्थातर्फ १६ दशमलव ०५ प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कबाट देखिन्छ । चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ बराबरको वार्षिक बजेट रहेकोमा असोज मसान्तसम्ममा दुई खर्ब १३ अर्ब ३९ करोड रुपैयाँ बराबर खर्च भएको छ ।

त्यस्तै पुँजीगत शीर्षकमा ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ बराबरको वार्षिक बजेट रहेकामा अहिलेसम्म १७ अर्ब ८३ करोड ३१ लाख रुपैयाँ बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख रुपैयाँ बराबर बजेट छुट्याइएकामा पहिलो त्रैमास अवधिमा ४९ अर्ब ३४ लाख ९० हजार रुपैयाँ बराबर खर्च भएको छ ।

अहिलेसम्मको सरकारी राजस्व सङ्कलन हेर्दा २ खर्ब ३४ अर्ब ६३ करोड २४ लाख रुपैयाँ बराबर रहेको छ । याे वार्षिक लक्ष्यको १५ दशमलव ९३ प्रतिशत बराबर हो । सरकारले चालु आवका लागि १४ खर्ब ७२ अर्ब ४८ लाख ४७ हजार रुपैयाँ बराबर वार्षिक राजस्व उठाउने लक्ष्य राखेको छ ।

पहिलो त्रैमासमा सङ्कलन भएको राजस्वमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको १५ दशमलव २८ प्रतिशत अर्थात् १ खर्ब ९९ अर्ब ४६ करोड २१ लाख र गैरकर राजस्वतर्फ वार्षिक लक्ष्यको १६ दशमलव ७९ प्रतिशत अर्थात् १९ अर्ब ६५ करोड ३० लाख रुपैयाँ बराबर रहेको छ । चालु आवका लागि ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले अहिलेसम्म वार्षिक लक्ष्यको ० दशमलव १२ प्रतिशत अर्थात् ६ करोड १८ लाख रुपैयाँ बराबर अनुदान लिएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया