४ वर्षदेखि बन्द रहेकाे टिपताला नाका खुलाउन छलफल

 कात्तिक ३०, २०८० बिहिबार १९:५०:३० | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – काेराेना महामारीका कारण चार वर्षदेखि बन्द रहेकाे टिपताला नाका खुलाउने विषयमा दुई देशका स्थानीय पदाधिकारी तथा नेतृत्वबीच छलफल भएको छ ।

टिपताला भञ्ज्याङमा दुई देशका स्थानीय पदाधिकारीबीच अनौपचारिक भेटघाट गर्दै नाका खुलाउने विषयमा छलफल भएको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । छलफलमा नेपालको तर्फबाट फक्ताङलुङका अध्यक्ष राजन लिम्बू, उपाध्यक्ष रवीन साम्रा लिम्बूसहितका पदाधिकारीको सहभागिता थियो । चीनको तिब्बतको तर्फबाट दिङ्जे काउन्टी जिल्लाका डीएसपी दावा छिरिङ लामा, इमिग्रेसन पुलिस अफिसर टासी थुन्डुकसहितका पदाधिकारी सहभागी थिए ।

छलफलमा नाका खुलाउन, व्यापार तथा पर्यटन विकास गर्न र टिपतालादेखि ओलाङचुङगोलासम्म सडक कालोपत्रका लागि सहयोग गर्न चीन सरकार इच्छुक रहेको तिब्बतका तर्फबाट सहभागी स्थानीय पदाधिकारीले बताएका फक्ताङलुङका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

टिपताला नाका नखुल्दा दुई देशबीच हुँदै आएको सीमा व्यापार ठप्पसँगै फक्ताङलुङ–७ को ओलाङचुङगोला, याङ्मा, वडा नम्बर–६ लेलेपको फले र घुन्साका बासिन्दालाई दैनिकी चलाउन समस्या भएको छ । उनीहरूले तिब्बतकाे रिउबाट सस्तो मूल्यमा दैनिक उपभोग्यलगायतका सामग्री आयात गर्दै आएका थिए ।

नाका बन्द भएपछि यहीँको सामान खरिद गर्दा मूल्य र ढुवानी खर्च महँगो पर्ने स्थानीय बताउँछन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया