मध्यपहाडका समस्या र माग सम्बोधनका लागि पहल गर्नेछौँ : अध्यक्ष ओली

 पुस ८, २०८० आइतबार १९:५९:३५ | रासस
unn.prixa.net

काठमाण्डाै – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा देखिएका समस्या र मागकाे अध्ययन, विश्लेषण गरी सम्बोधनका लागि पहल गर्ने बताउनुभएकाे छ ।

पार्टीकाे ‘सङ्कल्प यात्रा’ का उपलब्धिलाई आज आइतवार पार्टी कार्यालयमा सार्वजनिक गर्दै अध्यक्ष ओलीले, समस्याका ती विषय राज्यको जुन तह– सङ्घीय, प्रादेशिक या पालिकासँग सम्बन्धित छ, त्यहाँ बुझाउने छौँ । तिनको समाधानका लागि सम्बन्धित निकायसँग ध्यानाकर्षण र पहल गर्नेछौँ ।

ओलीले मध्यपहाडको विकास र समृद्धिसम्बन्धी परियोजना सार्वजनिक गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, यस क्रममा हामी विज्ञ, जनप्रतिनिधि र अन्य आवश्यक पक्षसँग सघन छलफल गर्नेछाैँ, गहन अध्ययन गर्नेछौँ । हाम्रो सङ्कल्प छ– हामी पहाडी भूभागलाई समृद्धिको केन्द्र बनाउने छौँ ।

बैतडीको झुलाघाटबाट गएके मङ्सिर १४ गते शुरु भएको याे यात्रा यही पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन भएको थियो । ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ को मर्म एवम् भावनाअनुरूप याे यात्रामा ३० जिल्ला हुँदै दुई हजार किलोमिटरभन्दा यात्रा गर्दै जनसभा, कोणसभा, साना भेला र जमघट, सर्वदलीय र सर्वपक्षीय बैठक, सांस्कृतिक कार्यक्रम र अन्तरक्रियाका माध्यमबाट लाखौँ नागरिकसँग प्रत्यक्ष भेटघाट र संवाद गरिएको एमालेले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया