सुध्रिने र सुधार गर्ने वाचा गरेका प्रधानमन्त्रीको एक महिना पुरानै पारामा बित्यो

 माघ १०, २०८० बुधबार १८:७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आजभन्दा ठ्याक्कै एक महिनाअघि पुस १० गते आफ्नो एक वर्षको समीक्षा सुनाउँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक धेरै कार्यक्रममा नजाने घोषणा गर्नुभएको थियो । सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थानविन्दु हुने उहाँको भनाइ थियो । तर आफ्नो घोषणा विपरीत प्रधानमन्त्रीले बितेको एक महिनाका धेरै दिन उद्घाटन र भाषण गरेरै समय खर्च गर्नुभएको छ । महिना दिनमा प्रधानमन्त्री पुगेका कार्यक्रमको नालीबेली:

पुस १० गते : राष्ट्रको नाममा सम्बोधन गर्ने बेला अपरिहार्यबाहेक धेरै कार्यक्रममा नजाने घोषणा गर्नुअघि प्रधानमन्त्री प्रचण्डले काठमाण्डौको वसन्तपुरमा २० औँ राष्ट्रिय ज्यापु दिवसको उद्घाटन गर्नुभएको थियो ।

पुस ११ गते : अपरिहार्यबाहेकका कार्यक्रममा नजाने र कार्यशैली बदल्ने घोषणा गरेकै भोलिपल्ट प्रधानमन्त्री हेलिकप्टर चढेर गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा नागरिकसँग प्रधानमन्त्री कार्यक्रममा पुग्नुभयो । त्यसपछि हेलिकप्टरमै गण्डकी गाउँपालिकाको ज्यामिरेघाटमा नवविवाहिता नातिनीको गाउँमा पुग्नुभयो । सरकारी खर्चमा हेलिकप्टर लिएर पार्टीको कार्यक्रममा गएको र परिवारसँग भेटघाट गरेको भन्दै सामाजिक सञ्जालमा उहाँको निकै आलोचना भयो ।

पुस १४  : गोरखाबाट फर्किएर दुई दिन कतै नगएका प्रधानमन्त्री त्यसपछि फेरि सार्वजनिक कार्यक्रममा देखिनुभयो । १४ गते संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) को छैटाैँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनलाई सम्बोधन गर्नुभयो ।

पुस १५ : प्रधानमन्त्री प्रचण्ड काठमाण्डौको टुँडीखेलमा भएको तमु ल्होसारको कार्यक्रममा जानुभयो ।

पुस १६ : नेपाली कांग्रेसले आयोजना गरेको बीपी जयन्ती तथा मेलमिलाप दिवसको कार्यक्रममा पनि प्रधानमन्त्रीले लामै समय बिताउनुभयो ।

पुस १७ : अपरिहार्यबाहेकका कार्यक्रम नजाने घोषणा गरेको सात दिनपछि प्रधानमन्त्रीले काठमाण्डौमा भएको कान्तिपुर एजुकेसन समिटको उद्घाटन गर्नुभयो ।

पुस १८ : काठमाण्डौमा भएको राष्ट्रिय इन्जिनियर सम्मेलन, दिगो विकासको वर्तमान अवस्था र भविष्य विषयक कार्यक्रम र ललितपुरमा भएको भूकम्प प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन तथा पुनर्निर्माणसम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री सहभागी हुनुभयो ।

पुस १९ : ११ गते गोरखाबाट फर्किएर सात दिनसम्म काठमाण्डौकै औपचारिक कार्यक्रममा देखिएका प्रधानमन्त्री प्रचण्ड १९ गते रामेछापको सुनापाति गाउँपालिकामा पुगेर माओवादी केन्द्रले आयोजना गरेको बेथान वीरता दिवसको कार्यक्रम र गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्नुभयो ।

पुस २३ : प्रधानमन्त्री प्रचण्ड माओवादी केन्द्रको बाग्मती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशले काठमाण्डाैमा गरेको कार्यक्रममा सहभागी हुनुभयो । त्यही दिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्री, सचिव र अन्य पदाधिकारीसँगको छलफलमा पनि सहभागी हुनुभयो ।

पुस २४ : प्रधानमन्त्री प्रचण्ड श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रालयगत छलफल कार्यक्रममा सहभागी हुनुभयो ।

पुस २६ गते : प्रधानमन्त्री चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारीसँगको छलफल कार्यक्रममा सहभागी हुनुभयो ।

पुस २७ गते : प्रधानमन्त्री प्रचण्डले एकै दिन तीन वटा कार्यक्रमका लागि समय निकाल्नुभयो । नेपाल वादोरियो कराते डो सङ्घले आयाेजना गरेको चौथो राष्ट्रिय वादोरियो खुला कराँते प्रतियोगिताको उद्घाटन गर्नुभयो । उहाँ त्यही दिन राप्रपाले पृथ्वी जयन्तीको अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुनुभयो अनि आफ्नै पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक पनि त्यही दिन राख्नुभयो ।

पुस २९ : पुस मसान्तको दिन प्रधानमन्त्री प्रचण्डले चिनियाँ नयाँ वर्षको अवसरमा काठमाण्डौमा भएको सांस्कृतिक महोत्सवको उद्घाटन गर्नुभयो ।

माघ १ : आफ्नो घोषणा र प्रतिबद्धता विपरीत भाषण र उद्घाटनलाई निरन्तरता दिने क्रममा प्रधानमन्त्री माघे सङ्क्रान्तिको दिन झनै व्यस्त हुनुभयो । बिहान सिंहदरबारमा मेलम्चीको पानी ल्याउने कार्यक्रमको पुनः उद्घाटन गर्नुभयो । दिउँसो टुँडीखेलमा भएको थारु र मगर समुदायको माघी पर्वमा सहभागी हुनुभयो । त्यसपछि अर्घाखाँचीको सन्धिखर्क पुगेर पर्यटन प्रवर्द्धन कार्यक्रमको उद्घाटन गर्नुभयो ।

माघ २ : प्रधानमन्त्रीले काठमाण्डौको चन्द्रागिरिमा भएको भूकम्प सुरक्षा दिवस कार्यक्रमको उद्घाटन गर्नुभयो ।

माघ ३ : प्रधानमन्त्री प्रचण्ड असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन युगान्डा जानुभयो र ७ गते स्वदेश फर्किनुभयो । त्यसपछि दुई दिनसम्म कतै निस्कनुभएन । सिंहदरबारभित्रै बसेर निर्देशन दिन व्यस्त रहनुभयो ।

माघ ९ गते : सशस्त्र प्रहरी दिवसको २३ औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड हिजो हलचोक पुग्नुभयो ।

यसरी अपरिहार्यबाहेकका कार्यक्रममा जान्न भनेर घोषणा गरेको महिना दिनमा प्रधानमन्त्री प्रचण्ड पहिलेजस्तै गरी ठाउँठाउँमा पुगेर उद्घाटन र भाषणमा व्यस्त हुनुभयो । प्रधानमन्त्रीको रूपमा नगई नहुने भन्दा नजाँदा पनि हुने कार्यक्रममा धेरै पुग्नुभयो । अर्थात् कुन कार्यक्रम अपरिहार्य हो र कुन होइन भनेर छुट्याउन सक्नुभएन ।

राष्ट्रिय याेजना आयाेगका पूर्वउपाध्यक्ष पिताम्बर शर्मा निर्देशन धाराप्रवाह दिने तर त्यसकाे अनुगमन नगर्दा प्रधानमन्त्रीकाे भनाइ र गराइमा तालमेल नमिलेकाे बताउनुहुन्छ । ‘प्रधानमन्त्रीले बोलेका कुरालाई व्यवहारमा उतार्ने भने पनि त्याे प्रतिबद्धता पूरा भएन । प्रतिबद्धता भएकाे भए आत्मसमीक्षा हुन्थ्याे, कामकाे प्राथमिकताकाे निर्धारण हुन्थ्याे र प्रधानमन्त्री अनुशासनमा बस्नु हुन्थ्याे । प्रधानमन्त्रीले कुन कुरा महत्त्वपूर्णा हाे वा हाेइन भनेर नसोची काम गर्नुभएन’, उहाँले भन्नुभयाे ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया