दह्रोसँग खुट्टा टेक्न टोलटोलमा कोदोको झोल !

 साउन २०, २०८१ आइतबार १३:४४:५६ | मिलन तिमिल्सिना
unn.prixa.net

अर्थतन्त्र तहसनहस भएर देशले दह्रोसँग खुट्टा टेक्न नसकेको बेला सरकारले समृद्धिको नयाँ उपाय फेला पारेको छ । त्यो हो, राष्ट्रिय भोज र सरकारी कार्यक्रममा कोदोको झोल अनिवार्य । भोजभतेरमा पानीको झोल, दालको झोल, तरकारीको झोल, मासुको झोल, दहीको झोल, अचारको झोल, कोकफेन्टाको झोल र कहिलेकाहीँ विदेशी रक्सीको झोल त चाख्न पाएकै हो । अरू झोलमा भन्दा मासु र रक्सीको झोल भएको ठाउँमा भीडभाड बढी हुन्छ । अब भोजमा कोदोको झोल मिसिएपछि भीड झन् थपिन्छ । कोदोको झोलमा भीड बढेपछि मान्छेले खुट्टो टेक्न छाड्छ, तर देशले चाहिँ दह्रोसँग खुट्टा टेक्छ । कसरी भन्नुहोला ? ल हेर्नुहोस् यसरी :

लुकिछिपी कोदोको झोल चाख्नेहरूले अब खुलमखुला छाती फुकाएर र घाँटी तन्काएर कोदोको झोल पिउन पाउँछन् । अहिलेसम्म नपिएकाहरूलाई पनि तलतल लाग्छ । त्यसमाथि भोजभतेरमा सित्तैमा पिउन पाउने भएपछि सबैको जिब्रो रसाइहाल्छ । रसाएको जिब्रोले झोल चाख्छ । मुखमा झोल पर्नेबित्तिकै मान्छे लट्ठ हुन्छ । रक्सीले लट्ठ भएको मान्छेले आफ्नो पीर, व्यथा, दुःख, कष्ट, चिन्ता, तनाव सबै बिर्सन्छ । गरिबी र अभाव भुलेर मस्त हुन्छ । दुःख, पीर, अभाव बिर्सेर मान्छे मस्त हुनु भनेको सुखी हुनु हो । अहिलेसम्म थोरै मान्छे मात्र रक्सी पिएर सुखी भएका थिए । अब सरकारी भोजमा कोदोको झोल अनिवार्य भएपछि रक्सी पिउने मान्छेहरू बढ्छन् । अर्थात् सुखीहरूको सङ्ख्या थपिन्छ । सुखी मान्छे बढ्नु भनेको सुखी नेपाली र समृद्ध नेपालको सपना साकार हुनु हो ।

कोदोको झोलले सरकारी मान्यता पाउनेबित्तिकै पढ्दै नपढिकन फररर अङ्ग्रेजी बोल्न सक्ने मान्छेहरूको सङ्ख्या थपिन्छ । जताततै तर्क र बहस गर्न सक्ने मान्छेहरू मात्रै भेटिन्छन् । अहिलेसम्म पियक्कडहरू जम्मा हुने केही केही ठाउँमा मात्रै अङ्ग्रेजीमा फररर बोल्ने र तर्क गर्ने मान्छेहरू हुन्थे । अब यस्ता मान्छेहरूको सङ्ख्या टोलटोलमा थपिन्छ । कोदोकै झोलले अङ्ग्रेजी बोल्न र तर्क गर्ने क्षमता बढाउन सक्ने भएपछि पाइलैपिच्छे बोर्डिङ स्कुल र कोचिङ कक्षा आवश्यक पर्दैन । बोर्डिङ स्कुल र कोचिङ कक्षामा गर्ने लगानी जाँडभट्टीमा रूपान्तरण हुन्छ । बोर्डिङ र कोचिङ कक्षाको सट्टा जाँड उद्योग बढेपछि अर्थतन्त्र यसै बलियो हुने भैहाल्यो ।

सरकारी कार्यक्रममै कोदोको झोल अनिवार्य भएपछि सरकारी जागिरमा आकर्षण थपिन्छ । सरकारी अड्डाहरूमा दिनहुँ कार्यक्रम हुन थाल्छन् । यस्ता कार्यक्रम र गोष्ठीहरूमा बोतलको पानीको सट्टा बोतलको कोदो हुने भैहाल्यो । पानीको झोलभन्दा कोदोको झोल चाख्न पाइने भएपछि कर्मचारीहरूमा हाटा (हाजिर गरेर टाप) गर्ने प्रवृत्ति छुट्छ । कार्यालयमा चाँडै पुग्ने, ढिलोसम्म बस्ने बानीको विकास हुन्छ । एकातिर काम गरिरहेका कर्मचारीको हौसला बढ्ने, अर्कोतर्फ नयाँ जनशक्तिलाई सरकारी काम गर्न रुचि जाग्ने । कोदोको झोल चाख्नकै लागि पनि मान्छेहरू देशभित्रै काम गर्न रुचाउँछन् । पढाइ र कामका लागि विदेश जानेहरूको भीड घट्छ । युवालाई विदेश जान रोक्ने सरकारी नीति सफल हुन्छ ।

सरकारले नै कोदोको झोललाई मान्यता दिने भएपछि अहिलेजस्तो प्रहरीले जाँड बनाएको घ्याम्पो घोप्टाउँदै हिँड्नु पर्दैन । जाँडको पछि लाग्ने प्रहरीहरू अरू काममा लाग्छन् । सेनाझैँ प्रहरी पनि विकास निर्माणको काममा लाग्छ र देशले उतिखेरै काँचुली फेर्छ ।

अहिलेसम्म खोयाबिर्के, जाँड, तीनपाने, चारपाने, घ्याम्पाको झोल भनेर हेँलामा परेको कोदोको झोलले अब मान सम्मान पाउँछ । वीर गोर्खालीको कोदोको झोल, सगरमाथा फेदीको कोदोको झोल, बुद्धको जन्मस्थलमा फलेको कोदोको झोल जस्ता आकर्षक लेबल टाँसिएका बोतलले नेपालीलाई भन्दा बढी विदेशीलाई आकर्षित गर्छ । कोदोको झोल खोज्दै विदेशीहरू नेपाल आउँछन् । नेपालका टोलटोलमा पुगेर झोल चाख्छन् । नेपालको पर्यटन क्षेत्रमा थामिनसक्नु गरी बढ्छ । अनि कोदोको एक घुँड्की र हातको एक चुड्कीमै नेपाल धनी भैहाल्छ ।

स्वदेशीदेखि विदेशीले समेत जाँड खोज्न थालेपछि कोदोको माग र मूल्य ह्वात्तै बढ्छ । अहिलेसम्म बाँझा रहेका खेतबारीमा कोदोको खेती हुन थाल्छ । खेतबारीको उत्पादनले मूल्य पाएन भनेर विदेश जान बाध्य भएका युवाहरू गाउँघर फर्केर बाँझा खेतबारी खन्न थाल्छन् । धान, मकैको सट्टा खेतबारीमा कोदो फल्छ । भात खानेहरूलाई पनि कोदोकै झोल मन पर्छ । देशमा एकातिर कोदोको उत्पादन बढ्ने, अर्कोतिर चामलको आयात घट्ने । बाँझा खेतबारीमा कोदोको बाला झुल्ने । टोलटोलमा कोदोको झोल उत्पादन हुने । घरघरमा जाँडको बासना चल्ने । अनि सुखी नेपाली, समृद्ध नेपाल भएन भनेर कसले भन्ने ?

कोदोको झोलले देश धनी हुन्छ भन्ने यति धेरै आधार हुँदाहुँदै पनि तपाईँलाई विश्वास लागेन भने नजिकैको भट्टीमा पसेर एक घुँड्को पिउनुहोस् । उतिखेरै आँखा अगाडि रेल र पानीजहाज कुदेको, नुनदेखि सुनसम्मको मूल्य घटेको, उद्योग कलकारखाना फस्टाएको, डाँडाकाँडामा विदेशी पर्यटकको लर्को लागेको, गरिबी हटेको र सबै मान्छेले सुख मात्रै पाएर देशले दह्रोसँग खुट्टा टेकेको तस्बिर देखिएन र तपाईँको खुट्टा चाहिँ भुइँमा न भाँडामा भएन भने अनि मलाई भन्नुहोस् ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया