गएरातिदेखि देशका धेरै ठाउँमा झरी, मध्य र पश्चिमी क्षेत्रमा भोलिसम्म नै पानी पर्ने सम्भावना

 भदौ १६, २०८१ आइतबार १८:११:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशका धेरैजसो ठाउँमा हिजोदेखि शुरू भएको झरी भोलिसम्म नै रहने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार झरी र ठूलो पानी पर्ने प्रणाली पूर्वबाट पश्चिमतर्फ सरिरहेकाले पूर्वमा केही कम पानी पर्ने सम्भावना छ । तर मध्य र पश्चिममा भने भोलि बेलुकासम्म नै पानी पर्ने सम्भावना छ । बाग्मती, गण्डकी, कर्णाली र सदूरपश्चिममा केहीबेर पानी रोकिने र परिहाल्ने क्रम भोलिसम्म नै चल्ने उहाँले बताउनुभयो । यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी र पहिरोको पनि जोखिम रहेको छ ।

कोशी र मधेश प्रदेशका केही ठाउँमा पनि आज राति ठूलो पानी पर्ने सम्भावना छ । झरी भोलिदेखि कम हुने भए पनि मनसुनको समय बाँकी नै रहेकाले बेलाबेलामा पानी पर्ने क्रम भने चलिरहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गएरातिदेखि कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत, दैलेख, म्याग्दी, बाग्लुङ, कास्की, लमजुङ, गोरखा, पाल्पा, चितवन, अर्घाखाँची, रुपन्देही, नुवाकोट, धादिङ, मकवानपुर, काठमाण्डौ उपत्यकाका तीन वटै जिल्ला, रुपन्देहीलगायतका ठाउँमा ठूलो पानी परेको छ ।

पछिल्लो १२ घण्टामा चितवनको कल्याणपुरमा १ सय ६० मिलिमिटर, मकवानपुरको हात्तीसुँडेमा १ सय ३६ मिलिमिटर, रुपन्देहीको भैरहवामा एक सय मिलिमिटर, काठमाण्डौको धाप ड्याम र लमजुङको बेसीशहरमा ९५ मिलिमिटर पानी परेको छ । काठमाण्डौ उपत्यकाका बाग्मती, धोबीखोला, शालीनदी, विष्णुमतीलगायतका खोला तथा नदीमा बाढीको चेतावनी जारी भएको छ ।

यस्तै मकवानपुरको पूर्वी राप्ती र बकैया खोलामा पनि बाढीको चेतावनी जारी भएको छ । यसैगरी नारायणगढ–मुग्लिङ सडक खण्डमा पनि आकस्मिक बाढी र पहिरोको जोखिम रहेकोले यात्रामा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षालाई हल्का वर्षा, ५० मिलिमिटरसम्मको वर्षालाई मध्यम वर्षा र ५० देखि एक सय मिलिमिटरसम्मको वर्षालाई ठूलो वर्षा भनिन्छ । यस्तै एक सय देखि २ सय मिलिमिटरसम्मको वर्षालाई धेरै ठूलो र दुई सय मिलिमिटरभन्दा माथिको वर्षालाई अति ठूलो वर्षा भनिन्छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया