लक्ष्मीलोचना वैद्यको प्रकाशोन्मुख उपन्यास ‘ऋतु’ बाट एउटा अंश

 फागुन २४, २०८१ शनिबार १३:४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

बनेपाबाट काठमाण्डाैका लागि निस्कने बसहरू यात्रुहरूले भरिएका थिए । अफिस आवरमा प्रायः यस्तै हुने गर्छ । मैले बसको अन्तिमतिर उभिएर यात्रा गर्ने निर्णय गरेँ । अगाडि बसेका २–३ जना मान्छेहरूलाई रिक्वेस्ट गरी आफू पछाडि गएँ । सूर्यविनायक पुगेपछि बसका अधिकांश सिटहरू खाली हुन्थे । यसले मलाई सिट खाली नभए पनि बसमा चढ्न ढाडस दिएको थियो । घडी हेरेँ । साढे ८ हुने सङ्केत घडीको सुइले दिँदै थियो । मन वेगले कुदेर अफिस पुगिसक्यो तर बस भने बनेपामै थियो ।

“बस हिँड्न नि कति ढिला हो । अलि चाँडै गर्न मिल्दैन ?”, आफ्नो हतारोलाई मध्यनजर गरेर चाँडै बस कुदाउँला कि भन्ने आशामा मैले सहचालकलाई भनेँ ।

“अब एकै मिनेटमा हिँड्छ दिदी ।”, सहचालकले यति भन्दै बाहिर गएर चिच्याउन थाल्यो, “साँगा, भक्तपुर सूर्यविनायक, कोटेश्वर, काठमाण्डाै.......... साँगा, भक्तपुर सूर्यविनायक, कोटेश्वर, काठमाण्डाै........... ।”

मनमा ढ्याङ्ग्रो बज्न थालेको थियो । मैले म्यानेजर सरलाई अलि ढिला आइपुग्ने आशयको म्यासेज लेखेर सेन्ड गरेँ । प्रविधि कति फास्ट भइसक्यो । भर्खरै लेखेको म्यासेज तत्कालै सम्बन्धित मान्छेकहाँ पुगेको सङ्केत दिइसक्यो तर बसले हिँड्ने सुरसार गरेको थिएन ।

सहचालकले भनेको एक मिनेटको मतलब पाँच मिनेट रहेछ । बस पाँच मिनेटपछि हावाको गतिमा कुद्यो । बनेपाबाट काठमाण्डाै ५०–६० मिनेटभित्र पुर्‍याउने भएकाले हतार भएको समयमा बसको गतिले साक्षात् भगवान‍्काे रूप लिन्थ्यो । अनि गतिकै कारण कतिपय अवस्थामा भवितव्य भएर दुर्घटना हुने हो कि भन्ने पिरले शैतानको रूप लिन्थ्यो । यात्रा गरून्जेल यात्रुहरूको जिन्दगी चालककै हातमा हुन्छ ।



धन्न सोचेको जति ढिला भएन । तमन्नालाई लिफ्टमै भेटेँ ।

“ओइ, के छ खबर ?”, तमन्नाको पहिलो प्रश्न ।

“ठीक छ यार, तिम्रो खबर के छ ?”, जवाफसँगै मेरोतर्फबाट गएको प्रतिप्रश्न ।

“ठीक छ ।” तमन्नाको जवाफ ।

तमन्ना मलाई हेरेर मुस्काउँदै आफ्नो क्याबिनतिर लागी । म भने अफिसमा छिर्नेबित्तिकै प्रसन्नको क्याबिनमा चियाएँ । ऊ आइसकेको रहेनछ ।

१२ बजेतिर कामबाट फुर्सद मिल्यो । मैले प्रसन्नलाई मेसेज पठाएँ, “कहाँ हो ?” मेसेजको जवाफ आएन । म रेस्टरूमतिर गएँ । फर्किँदा यसो प्रसन्नको क्याबिनतिर नजर लगाएँ । प्रसन्नको कुर्सीमा कोही बसेको थियो तर त्यो प्रसन्न थिएन । म अचम्म मान्दै सरासर लागेँ ।

मैले तमन्नालाई म्यासेज पठाएँ, “ओई, प्रसन्नको ठाउँमा अर्को कोही मान्छे रहेछ । उसको ट्रान्स्फर भयो कि के हो ?” एकछिनपछि तमन्नाको म्यासेज आयो, “खोई, था’ भएन । अहिले बिजी छु, ब्रेकमा कुरा गरौँला ।”

प्रसन्नले डिपार्ट चेन्ज हुनेसम्बन्धी केही पनि कुरा गरेको थिएन । मोबाइल बज्यो, ट्वाङ्ङ । तमन्नाको मेसेज रहेछ, “ओई, काम सकेन ? खाजा खान आइज । म क्याफेटेरियामा पर्खिराख्या छु ।”
बाँकी भएको कामलाई थन्क्याएर म सरासर क्याफेटेरियातिर लागेँ । तमन्ना कफीको चुस्की लिँदै मोबाइल हेरिरहेकी रहिछे ।

“काम छैन है तेरो, जहिले पनि मोबाइल हेरिरहनुपर्छ ? आँखा बिग्रेला ।” मेचमा बस्दै भनेँ ।

“दिनभरि कम्प्युटरमा बस्दा केही नभ’को आँखा अब जाबो मोबाइल हेरेर बिग्रिन्छ नि, हैन ?” उसले पूरा ठाँटका साथ कुरा राखी र आफ्नो आँखालाई हातले स्पर्श गरेर माया देखायो ।

“यस्तै कुरा गरेर बस्, बुढेसकालमा था’ पाउँलिस् ।”

“बुढेसकालमा के हुन्छ ? हु केयर्स यार ! मरिन्छ कि बाँचिन्छ था’ छैन, इन्जोय गर् न ।” तमन्नाभित्रको गुरू व्यक्तित्व ब्युँझियो ।

“दाइ, कफी ल्याइदिनु है ।”

“खाजा नमगा, मैले मगाइसक्या छु ।” तमन्नाले मोबाइल हेर्दै भनी । उसले मोबाइल टेबलमा राखी अनि हातले टेबलमा अडेस लगाउँदै सुस्तरी भनी, “ओई, तँलाई एउटा कुरा था’ छ ?”

“के भो ?” मभित्र जिज्ञासाको लहर चल्यो ।

“प्रसन्नले त अफिस छोड्यो रे ।” जासुसी पारामा भनी ।

“हँऽऽऽ ।” म निकै आश्चर्यमा परेँ । मलाई यो कुरा पत्याउन मुस्किल भयो । “हैन होला, यु आर किडिङ है ?” हो भन्ने जवाफको आशामा भनेँ ।

“हैन यार, एम नट किडिङ, उसले जब छोड्यो रे ।” उही जासुसी पारामा स्वरलाई मधुरो बनाउँदै भनेकी थिई ।

“हँ, तिम्लाई कसरी था’ भो ? शुक्रवारसम्म त सँगै खाजा खाएको । हाम्लाई केही पनि थाहा दिएन त । हैन होला । केही दिनलाई बिदा लिएर गएको होला ।” मैले तर्कलाई सकेसम्म मजबुत बनाउने कोसिस गरेँ ।

“हैन भन्या हैन, कति लाटी तिमी । मैले प्रसन्नको कुर्सीमा बस्ने मानिससँग कुरा गरेको, अबदेखि त्यो ठाउँमा बसेर उसले काम गर्छ अरे । पत्याऊ न यार ।”

“ह्या, यस्तै जोकिङ गरेर बस् । पत्याउँदिनँ ।” म उसको कुरालाई मान्न तयार नै भइनँ । म केही पनि नबोली सरासर त्यहाँबाट बाहिरिएँ । तमन्ना मेरो पछिपछि आउँदै थिई । मैले वास्तै गरिनँ ।

“पत्या न यार, मैले झुठो बोलेको हैन के ।” उसले आफ्नो कुरा साँचो भएको जोड दिइरही तर मैले मानिनँ । हामी लिफ्ट कुरेर बस्यौँ । त्यसै बेला म्यानेजर सर पनि आउनुभयो । उहाँलाई देखेर हामी मुस्कायौँ । हामी तीन जना लिफ्टभित्र पस्यौँ ।

लिफ्टमा बस्दै गर्दा तमन्नाले हातमा चिमोटी । मैले लाज होला भनेर मुखले ऐया भन्न सकिनँ, मनमनै बेस्सरी चिच्याएँ, “ऐया............ मोरी ।” अनि आँखा तरेर हेरेँ । तमन्नाले मलाई म्यानेजरतर्फ इसारा गर्दै थिई । मलाई पनि म्यानेजर सरलाई प्रसन्नको बारेमा सोधूँ, सोधूँ लाग्यो । प्रसन्नको कुर्सीमा अरू कोही आएर बस्नु, प्रसन्न अफिस नआउनु एउटा संयोग मात्र हो कि अरू नै केही ? जान्ने इच्छा थियो । 

मनमा पिर लिएर दिमाग दुखाउनुभन्दा भनेकै जाती भन्ने मन्त्र सम्झेँ र जे पर्लापर्ला भनेर भनिहालेँ, “सर, प्रसन्नले जब छोडेको हो ?”

“हजुर, उहाँको सट्टा विक्रम के.सी. आउनुभएको छ । परिचय भइसकेको छैन ?” म्यानेजर सरले सहज भावमा भन्नुभयो । मेरो अनुहार असार–श्रावणको झरीको समय जस्तो भयो, कालो–अँध्यारो । 

“अहँ, छैन । अनि प्रसन्नले किन छोडेको रहेछ ? केही खबर नै छैन हामीलाई ।” मैले आफूलाई सम्हालेर भनेँ ।

“अँ, प्रसन्न स्टडी गर्ने रे । पढाइ कम्प्लिट गर्नुपर्‍याे रे । मैले वैकल्पिक उपाय अपनाउने सुझाव दिएको थिएँ तर मानेन । उसले जब छोड्ने निर्णय गरेको रहेछ । सायद पढाइमा नै फोकस गर्न चाहन्छ ऊ ।”

मेरो कानमा “उसले जब छोड्ने निर्णय गरेको रहेछ” भन्दा बाहेक अरू केही पनि परेन ।

अन्तिम अपडेट: चैत २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया