प्रमुख प्रशासकीय अधिकृत नभएर कर्मचारीको तलब रोकिएको भन्दै बाल...
चैत १२, २०८१ मंगलबार
काठमाण्डाै – बारा र पर्सा जिल्लामा रहेका औद्योगिक करिडोर र आमउपभोक्ताको बिजुली आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन उच्च क्षमताका तीन वटा सबस्टेशनको निर्माण अन्तिम चरणमा पुगेको छ ।
बाराको अमलेखगञ्ज तथा प्रसौनी र पर्साको वीरगञ्जमा निर्माणाधीन १३२ केभी क्षमताका तीन वटा सबस्टेशन निर्माण अन्तिम चरणमा पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन गरी सबस्टेशन र प्रसारण लाइन निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो ।
वीरगञ्ज क्षेत्रको बिजुलीकाे माग एवम् आपूर्ति व्वस्थापन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेशन महत्त्वपूर्ण रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो अवस्थामा संवेदनशील र जिम्मेवार भएर निर्धारित समयमै काम सम्पन्न गर्न आग्रह गर्नुभयो ।
पथलैया–सिमरा–वीरगञ्ज औद्योगिक करिडोरको बिजुली आपूर्तिको समस्या समाधान र बढ्दो माग पूर्ति गर्न अमलेखगञ्ज १३२/६६ केभी सबस्टेशन तयार भएको छ । याे सबस्टेशनमा रहने धेरैजसाे मुख्य उपकरणहरू जडान भइसकेका छन् । अमलेखगञ्ज सबस्टेशनलाई आउँदाे जेठको दोस्रो हप्ताभित्र सञ्चालनमा ल्याउने गरी अन्तिम चरणका कामहरू भइरहेका छन् ।
पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनमध्ये एउटा सर्किटलाई अमलेखगञ्ज सबस्टेशनभित्र छिराउने (लुप इन) र बाहिर निकाल्ने (लुप आउट) गर्ने काम सकिएको छ । त्यस्तै हेटौँडाबाट सिमरा–वीरगञ्ज औद्योगिक करिडोरमा बिजुली आपूर्ति गर्ने ६६ केभी लाइनको दुवै सर्किटलाई सबस्टेशनमा लुप इन र लुप आउट गरिसकिएको छ । हेटौँडाबाट गएको ६६ केभी लाइन लामो र क्षमता कम हुँदा सिमरा–वीरगञ्ज औद्योगिक करिडोरमा भोल्टेजको समस्या थियो ।
६६ केभी लाइनको लम्बाइ पनि घट्ने र १३२ केभी प्रसारण लाइनबाट बिजुली आपूर्तिको स्रोत हुने भएपछि अमलेखगञ्ज सबस्टेशन सञ्चालनमा आएपछि सिमरा–वीरगञ्ज औद्योगिक करिडोरको बिजुली आपूर्तिमा सुधार हुनेछ । सबस्टेशनमा १३२/६६ केभी २०० एमभीए र ६६/११ केभी २० एमभीए क्षमताका पावर ट्रान्सफर्मरहरू रहेका छन् । स्थानीय रूपमा बिजुली आपूर्तिका लागि ११ केभीका ६ वटा फिडर रहनेछन् ।
प्रसौनी तथा वीरगञ्ज सबस्टेशन र याे सबस्टेशनहरूलाई जोड्ने २ दशमलव ८ किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइन निर्माण भइरहेको छ । भूमिगत प्रसारण लाइन एक महिनाभित्र निर्माण सक्ने गरी काम भइरहेको छ । सबस्टेशनमा उपकरणहरू जडान र बाँकी रहेका सिभिल संरचनाहरूको काम भइरहेकाे छ ।
भारत र नेपालबीचको रक्सौल परवानीपुर १३२ केभी प्रसारण लाइनलाई प्रसौनी सबस्टेशनमा लुप इन र लुप आउट गरिने छ । याे सबस्टेशनबाट भूमिगत प्रसारण लाइनमार्फत वीरगञ्ज सबस्टेशनमा बिजुली आपूर्ति दिइने छ । अहिले वीरगञ्जमा चालू रहेको ६६/३३/११ केभी सबस्टेशनलाई विस्तार गरी १३२ केभी बनाउन लागिएको हो ।
सबस्टेशन र प्रसारण लाइन निर्माण सम्पन्न भएपछि वीरगञ्ज क्षेत्रमा बिजुली आपूर्तिका लागि १३२ र ६६ केभीको स्रोत हुनेछ । १३२ र ६६ केभी सबस्टेशन अन्तरआबद्ध हुने भएकाले बिजुली आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउने छ ।
अहिले बाराको कलैया क्षेत्रमा पनि वीरगञ्ज सबस्टेशनबाट बिजुली आपूर्ति हुँदै आएकोमा प्रसौनी सबस्टेशन सम्पन्न भएपछि त्यहीँबाट आपूर्ति दिइनेछ । यसबाट वीरगञ्ज सबस्टेशनको भार पनि घट्नेछ । प्रसौनी सबस्टेशनमा स्थानीय रूपमा बिजुली आपूर्तिका लागि ३३ केभी र ११ केभीका ५/५ वटा फिडर रहने व्यवस्था गरिएको छ ।
बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका क्षेत्रमा अहिले सञ्चालनमा रहेका तथा आउँदा दिनमा खुल्ने उद्योगहरूलाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना क्रमिक रूपमा बनाउन लागिरहेको छ ।
वीरगञ्ज क्षेत्रका उद्योगहरूले १३२ केभी प्रसारण लाइनबाटै बिजुली आपूर्ति लिन सक्ने गरी उच्च क्षमताका प्रसारण लाइन तथा सबस्टेशनहरू निर्माण अगाडि बढाइएको हो । वीरगञ्ज क्षेत्रको बिजुलीकाे बढ्दो औद्योगिक माग पूर्ति गर्न परवानीपुरबाट पोखरियासम्म १३२ केभी अर्को प्रसारण लाइन र पोखरिया सबस्टेशन निर्माणा अगाडि बढाइएको छ ।
हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन अन्तर्गत बाराको निजगढमा ४०० केभी सबस्टेशन निर्माण गरी याे लाइनलाई रमौली हुँदै पोखरियामा पुर्याउने गरी अर्को आयोजना शुरू गरिएको छ । प्रस्तावित ४०० केभी प्रसारण लाइन आयोजनाको लम्बाइ ६५ किलोमिटर हुने छ । निजगढ, रमौली र पोखरियामा गरी ४०० केभीका तीन वटा सबस्टेशन निर्माण गरिने छ । निजगढ–रमौली–पोखरिया प्रसारण लाइनको सर्भे सम्पन्न भइसकेको छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृतिको प्रक्रियामा रहेको छ । रमौली सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहणका गर्न मुआब्जा निर्धारण भइसकेको छ ।
निजगढ सबस्टेशन भारतको निर्यात आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा निर्माण गरिने छ । निजगढ–रमौली ३८ किलोमिटर प्रसारण लाइन र रमौलीमा सबस्टेशन एशियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा निर्माण गरिनेछ ।
सिमरामा रहेकाे विशेष अर्थिक क्षेत्र (सेज), डुमरवानालगायतका क्षेत्रलाई लक्षित गरी औरही–सिमरा १३२ केभी प्रसारण लाइन निर्माण अगाडि बढाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।