शेयर बजार लगातार तेस्रो दिन बढ्यो, साढे ७ अर्ब रुपैयाँको कार...
चैत १७, २०८१ आइतबार
नवलपरासी – नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दाउन्ने क्षेत्रको यात्रा निकै कष्टपूर्ण बनेको छ । सडक विस्तारका क्रममा दाउन्ने क्षेत्रको राजमार्ग भत्काइँदा अहिले यो खण्ड भएर यात्रा गर्नु निकै कठिन चुनौतीपूर्ण रहेको छ ।
सडक विस्तारका क्रममा भत्काइएका संरचनाहरू समयमै पुनर्निर्माण नहुँदा यात्रुहरु दिनहुँ कष्ट भोग्न बाध्य छन् । सडकखण्डको अरु क्षेत्रमा धमाधम कालोपत्र गरिए पनि दाउन्ने क्षेत्रमा भने उबड–खाबड सडक, साँघुरा घुम्ती, निर्माणका लागि बनाइएका अस्थायी डाइभर्सन र धुलाम्मे बाटोले यात्रालाई कष्टकर बनाएको हो ।
दाउन्ने खण्डमा धुलोका कारण दिउँसै ‘हेड लाइट’ बालेर हर्न बजाउँदै गाडीहरू गुडाउनुपर्ने बाध्यता छ । वैकल्पिक सडक नहुँदा यहाँ दिनहुँ गाडी जाम हुने समस्या उस्तै छ । फोन नलाग्ने, जङ्गल भएका कारण कहिलेकाहीँ यात्रु भोकभोकै बस्नुपर्ने अवस्था छ ।
दाउन्ने सडकको दुर्गति देखेर गाडी चालकहरू पनि हैरान छन् । ट्रक, बस, मोटरसाइकल सबैका लागि यो खण्ड जोखिमपूर्ण बनेको छ । इलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी नायब निरीक्षक लक्ष्मण तनगामी पनि समयमा सडक निर्माण नहुँदा यस क्षेत्रको यात्रा निकै कष्टपूर्ण रहेको सुनाउनुभयो ।
यस खण्डमा हाल सडक विस्तारको कामअन्तर्गत कल्भर्ट निर्माण र सडक चौडा बनाउने काम भइरहेको छ । दाउन्ने क्षेत्रमा अधिकांश बाटो एकतर्फी मात्र सञ्चालनमा छन् । एकतर्फी बाटोमा मालवाहक गाडी बिग्रँदा घण्टौँ आवागमन ठप्प हुने गरेको प्रहरी नायब निरीक्षक तनगामीले बताउनुभयो ।
नारायणगढ बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये ४७ किलोमिटर एकतर्फी कालोपत्रको काम भएको छ । कल्भर्ट तथा बाँकी पुलको निर्माण, १३ स्थानमा बेस तथा सब–बेसका कामहरू भइरहेका छन् ।
आयोजनाअन्तर्गत पूर्वी खण्डको अहिलेसम्मको भौतिक प्रगति ५७ दशमलव सात प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङका सहव्यवस्थापक राकेश झाले गाडी आवागमनमा अवरोध कम गर्ने गरी निर्माण काम गरिएको दाबी गर्नुभयो ।
उहाँकाअनुसार नारायणगढ–बुटवल सडकको ११४ किलोमिटरअन्तर्गत गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र दाउन्नेको जोखिमपूर्ण क्षेत्रमा १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।