गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न अल्पक...
बैशाख २, २०८२ मंगलबार
म्याग्दी – बजेट अभावका कारण गण्डकी प्रदेश सरकारद्वारा बहुवर्षीय ठेक्कामार्फत म्याग्दीमा सञ्चालित ६ वटा सडक स्तरोन्नति योजना निर्माण रोकिएको छ ।
बजेट अभावका कारण काम गरेको बिलको भुक्तानी नपाएपछि निर्माण व्यवसायीले सडक निर्माण स्थगित गरेका हुन् ।
बेनी–पाखापानी सडक योजनाको निर्माण कम्पनीका प्रतिनिधि सुवासचन्द्र कार्कीले सरकारले बजेट व्यवस्थापन गर्न नसकेपछि निर्माण स्थगित गरेको बताउनुभयो ।
गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षमा दुई करोड रुपैयाँ विनियोजन गरेको बेनी–पाखापानी सडक योजनाको काम रोकिएको छ ।
दरवाङ–धारापानी–ताकम–मुना सडकका लागि विनियोजन भएको दुई करोड रुपैयाँ बजेट पनि गएको पुस महिनामै सकिएपछि बीचमै काम रोकिएको छ । गएको वर्ष बेनी–पाखापानी सडकमा चार करोड रुपैयाँ सकिएको छ ।
प्रदेश सरकारले सञ्चालन गरेका अरू विभिन्न सडक र मोटरेबल पुल आयोजनाको लागि चालू आर्थिक वर्षमा विनियोजन भएको बजेट सकिएको छ ।
बेनी नगरपालिका र मङ्गला गाउँपालिका जोड्ने अर्जेखोलाको मोटरेबल पुलका ठेकेदारले गएकाे असारमै लक्ष्यभन्दा एक वर्षअघि नै काम सके पनि अझै भुक्तानी पाएका छैनन् ।
पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद पौडेलले विनियोजित बजेट भुक्तानी भइसकेको र रकमान्तर अथवा थप बजेट व्यवस्थापन नहुँदा निर्माण व्यवसायीलाई भुक्तानी दिन नसकेको बताउनुभयो ।
यस्तै म्याग्दीका सडक र पुलका पुरानो एउटासहित १० वटा बहुवर्षीय आयोजनामध्य ८ वटा निर्माणाधीन छन् । तर निर्माण व्यवसायीलाई भुक्तानी गर्ने बजेट नहुँदा सबै रोकिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।