गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न अल्पक...
बैशाख २, २०८२ मंगलबार
काठमाण्डाै – नेपालमा दासप्रथा उन्मूलन भएको १०० वर्ष पूरा भएको छ । तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले १९८२ साल वैशाख १ गतेदेखि देशमा दासप्रथाको उन्मूलन गर्नुभएको हो ।
चन्द्रशमशेरले १९८१ साल मङ्सिर १४ गते टुँडिखेलमा रहेको खरीको बोटबाट जनताको नाममा सम्बोधन गर्दै दासप्रथा उन्मूलनको घोषणा गर्नुभएको थियो । त्यसपछि ऐन बनाएर १९८२ सालको वैशाख १ गतेदेखि कार्यान्वयन गर्नुभएको हो ।
त्यसअघि नेपालमा दासदासीलाई कमाराकमारी अथवा केटाकेटी भन्ने चलन थियो । दासहरूले खेतीपाती, घरधन्दालगायत कामहरू निःशुल्क गर्नुपर्थ्याे । उनीहरूलाई जनावरजस्तै किन्न, बेच्न वा उपहारका रूपमा दिनसमेत सकिन्थ्यो ।
मध्यकालीन नेपालमा सामन्तीवादी कुरीतिका रूपमा यसको विकास भएको थियो । पृथ्वीनारायण शाह, भीमसेन थापादेखि जङ्गबहादुरसम्मले दासत्व मोचनका लागि प्रयास गरे पनि ऐन बनाएर यसलाई निर्मूल गर्ने बहादुरी भने चन्द्रशमशेरले देखाउनुभएको हो । दासदासीलाई मुक्त गर्न सरकारले पशुपतिनाथको गुठीबाट ३६ लाख ७० हजार रुपैयाँ झिकेर मालिकहरूलाई तिरेको थियो ।
न्युयोर्क टाइम्सले नेपालमा दासप्रथा उन्मूलन भएको समाचारलाई प्राथमिकताका साथ छापेर सम्पादकीयसमेत लेखेको थियो । न्युयोर्क टाइम्सको समाचार अनुसार मुक्त भएका ५९ हजार ८ सय ७२ मध्ये ५१ हजार ७ सय ८२ जनालाई प्रतिव्यक्ति औसतमा ७० रुपैयाँ तिरेको उल्लेख छ । ४ हजार ६ सय ५१ जना दासलाई मालिकले विना क्षतिपूर्ति मुक्त गरेका थिए भने १ सय १४ जना दासले भने आफ्नो मोल आफैँ तिरेका थिए ।
बेलायत भ्रमणबाट फर्केपछि चन्द्रशमशेरको धारणा फेरिएको र विदेशमा नेपालको प्रतिष्ठा राख्न दास उन्मूलनको घोषणा गरेको मानिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।