विश्वकप फुटबल : पहिलोपटक खेल्दै दक्षिण कोरिया र स्विडेन

 असार ४, २०७५ सोमबार ११:३९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप फुटबलमा सोमबार एशियाली देश दक्षिण कोरियाले स्विडेनसँग खेल्दैछ ।

‘समूह जी’को यो खेल निज्नि नोभोगोरोट रंगशालामा नेपाली समय अनुसार बेलुका पौने आठ बजेपछि सुरु हुनेछ । सन् २००६ पछि पहिलो पटक विश्वकप खेल्न लागेको स्विडेनमा अन्तर्राष्ट्रिय फुटबलका स्टार स्ट्राइकर जाल्टन इब्राहिमोभिच छैनन् । तर उनी बिनै पनि स्विडेनले राम्रो फुटबल खेलिरहेको विश्लेषकहरुले बताएका छन् । स्विडेन छनोट चरणमा दोस्रो भयो र प्लेअफमा इटालीलाई नकआउट गर्दै विश्वकपमा स्थान बनायो । समूहमा उसले फ्रान्सलाई पनि हराएको थियो ।

यस क्रममा स्विडेनका मार्कोस बर्गले आठ गोल गरेका थिए । उनले जाल्टनको अभाव महसुस हुन नदिएको विश्लेषकहरुको टिप्पणी छ । सन् १९५८ मा घरेलु भूमिमा आयोजना भएको विश्वकपमा उपविजेता बनेको स्विडेनले दुई संस्करणपछि रसियामा दक्षिण कोरियासँग प्रतिस्पर्धा गरेर विश्वकप यात्रा सुरु गर्नेछ । 
तर स्विडेनले पछिल्ला चार खेलमा एक गोल मात्र गर्न सकेको छ । ३ खेलमा गोल नै गर्न सकेन ।

दक्षिण कोरिया एशियाको फुटबल बादशाह हो । सन् २००२ मा घरेलु भूमिमा आयोजना भएको विश्वकपको सेमिफाइनल पुगेको कोरियाले सन् २०१० मा अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो । तर ब्राजिलमा भने उसले खासै प्रभाव जमाउन सकेन ।

टोटनह्यामका फरवार्ड सन ह्योङ–मिनको उपस्थितिले कोरियाली टिममा उर्जा थपेको छ । लगातार नवौं पटक विश्वकप खेल्दै गरेको कोरियाका लागि उनको प्रेरणा र बाँकी खेलाडीको जुझारुपनले सकारात्मक उर्जाको काम गर्नेछ । दक्षिण कोरियाली टिम स्वान्सी सिटीका पूर्व मिडफिल्डर कि सुङ येङको कप्तानीमा मैदान उत्रिनेछ ।

विश्वकप हेर्नका लागि दक्षिण कोरियाका २ हजार हाराहारीमा समर्थक रुस पुगेका छन् भने स्विडेनका ३० हजारभन्दा धेरै फुटबल समर्थक रुस पुगेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जर्मनी र मेक्सिकोसहितको यो समूहमा मेक्सिकोले जर्मनीलाई हराइसकेकाले कोरिया र स्विडेन दुवैका लागि आज ३ अंक जोड्नु  महत्वपूर्ण हुनेछ । 

म्याच फ्याक्ट्स

यी दुई टिम सन् १९४८ को लण्डन ओलम्पिक्समा पहिलो पटक खेलेका थिए, जुन खेलमा स्वीडेनले १२–० को जित निकालेको थियो । त्यसपछि भएको एकमात्र मैत्रिपूर्ण खेलमा स्विडेन २–० ले विजयी भएको थियो । 

कोरियाली टिम 

  • प्रशिक्षकः शिन ताई–योङ । 
  • गोलकिपरः किम स्योङ–ग्यु, किम जिन–ह्योन, चो ह्युन–वो । 
  • डिफेन्डरः लि योङ, जङ स्योङ–ह्योन, ओ बान–सुक, युन योङ–सन, किम मिन वो, होङ चुल, किम योङ–ग्ओन, जाङ ह्युन–सो
  • मिडफिल्डरः पार्क जो–हो, जु सि–जोङ, को जा–च्योल, जङ वो–योङ, कि सङ–येङ, गो यो–हान
  • स्ट्राइकरः सन ह्योङ–मिन, किम शिन–वुक, लि स्युङ–वो, ह्वाङ हि–चान, मुन सिओन–मिन

 

स्विडेन टिम

  • प्रशिक्षकः जाने एन्डरसन । 
  • गोलकिपरः रोविन ओल्सेन, कार्ल–जोहान जोनसन, क्रिष्टोफर नोर्डफल्ड । 
  • डिफेन्डरः माइकेल लुस्टिग, भिक्टर लिन्डेलफ, एन्द्रियज ग्रान्कभिस्ट, मार्टिन ओल्सन, लुद्विग अगस्टिनसन, फिलिप हेलन्दर, इमिल क्राफ्त, पोन्टस जान्सन । 
  • मिडफिल्डरः सेबास्टियन लार्सन, अल्बिन एक्दाल, इमिर फोर्सबर्ग, गुस्ताभ स्भेन्सन, ओस्कार हिल्जेमार्क, भिक्टर क्लेसन, मार्कस रोहदेन, जिम्मी दुर्माज
  • फरवार्डः मार्कस बर्ग, जोन गिडेटी, ओला तोइभोनेन, आइज्याक किसे थेलिन । 

 

प्लेयर्स टू वाच

  • सन मिन–ह्योङ– दक्षिण कोरिया

सन मिन–ह्योङ दक्षिण कोरियाका स्टार खेलाडी हुन् । इंग्लिस प्रिमियर लिग क्लब टोटनह्याम हट्सपरबाट खेलिरहेका सन अहिले राम्रो फर्ममा छन् । उनले टोटनह्यामका लागि ३७ खेलमा १२ गोल र ७ वटामा गोलका लागि सहयोग गरेका छन् ।

तीब्र गतिका यी स्ट्राइकर स्विडेनका लागि टाउको दुखाइ बन्न सक्नेछन् । उनलाई चा बुम–कुनपछिका उत्कृष्ट फरवार्ड पनि भनिन्छ । लेफ्ट विङ्मा पनि जम्न सक्ने सनलाई रणनीतिको मुख्य मेरुदण्ड बनाउने प्रतिक्रिया प्रशिक्षक शिन टाई–योङले दिएका छन् ।  

  • मार्कस बर्ग– स्विडेन

स्विडेनका स्ट्राइकर मार्कस बर्गले टिमका लागि ५७ खेलमा १८ गोल गरेका छन् । ८ गोल उनले विश्वकप छनोट प्रतियोगितामा गरेका थिए ।

उनी युरोपेली छनोटका पाँचौं सर्वाधिक गोलकर्ता समेत हुन् । उनी स्विडिस टिमका मुख्य गोलकर्ता समेत हुन् । ३१ वर्षे मार्कसले मिडफिल्डर इमिल फोर्सबर्गसँग निकै राम्रो तालमेल गरिरहेका छन् । २६ वर्षका फोर्सबर्गले स्विडेनका लागि ३६ खेलमा ६ गोल गरेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया