देशभरका राम मन्दिरमा भक्तजनको भीड

 चैत २४, २०८१ आइतबार १८:०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

चैते दशैँकाे रामनवमीका दिन काठमाण्डाैकाे बत्तीसपुतलीमा रहेकाे रामचन्द्र मन्दिरमा भक्तजनको भीड । तस्वीर : रासस

काठमाण्डाै – रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ ।

प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीमा रहेकाे श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, सङ्घीय राजधानी काठमाण्डाै र देशभरका अन्य राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको पाैराणिक ग्रन्थमा उल्लेख छ । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मिकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

चैत र असोजको नवरात्रलाई जाग्रत दशैंका रूपमा महत्त्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दशैं भनिन्छ ।

मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्त्व रहेको छ । जनकपुरधाममा रहेको रामजानकी मन्दिरमा पनि आज मेला लागेकाे छ । यो मेलामा भारतबाट समेत हजारौं श्रद्धालु भक्तजन सहभागी भई गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजा गर्छन् । रामनवमीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

तस्वीर : रासस

अन्तिम अपडेट: चैत २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया