यूटिएलसँगको सम्झौता रद्द, गण्डकी र पाँच नम्बर प्रदेशमा टेलिकमले नै अप्टिकल फाइबर बिच्छाउने

 फागुन ९, २०७५ बिहिबार १५:७:२९ | उज्यालो सहकर्मी

काठमाण्डाै - गण्डकी प्रदेश र पाँच नम्बर प्रदेशका जिल्लामा अप्टिकल फाइबर बिच्छाउनको लागि यूटिएल कम्पनीसँग भएको सम्झौता रद्द भएको छ । 

मन्त्रिपरिषद्को बैठकले समयमा काम नगरेको भन्दै यूटिएलसँग भएको सम्झौता रद्द गरेर गण्डकी र प्रदेश पाँचमा अप्टिकल फाइबर बिच्छाउने जिम्मा नेपाल टेलिकमलाई दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । 

बैशाख १५ गतेसम्म काम नै सक्नुपर्ने भए पनि अहिलेसम्म यूटिएलले काम सुरु नगरेकोले सम्झौता तोडिएको मन्त्री बाँस्कोटाले बताउनुभयो । 

गण्डकी र ५ नम्बर प्रदेशमा अप्टिकल फाइबर पुर्‍याउन २०७४ वैशाखमा दुरसञ्चार प्राधिकरण र युनाइटेड टेलिकम यूटिएलबीच  दुई अर्ब एक करोड रुपैयाँमा सम्झौता भएको थियो ।  तर काम नै सुरु नगरेपछि सम्झौता रद्द भएको हो ।

टेलिकमले ४ अर्ब ८८ करोड रुपैयाँमा प्रदेश नम्बर १, २ र ३ को पाँचथरको चिरूभञ्ज्याङदेखि गोरखाको आरूघाटसम्म अप्टिकल फाइबर बिछ्याउन काम सुरु गरिसकेको छ । 

त्यसैगरी ६ र ७ नं प्रदेशमा अप्टिकल फाइबर बिच्छाउन स्मार्ट टेलिकमले ३ अर्ब ९४ लाख रुपैयाँमा जिम्मा पाएको छ । उसको काम पनि सुस्त रहेको नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ । 


 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया