ऐतिहासिक  भोपुर दरबार संरक्षणको अभावमा अलपत्र

 फागुन २०, २०७५ सोमबार १९:३:० | डीबी बिष्ट
unn.prixa.net

बझाङ – तत्कालट्ठन बझाङी राजाको ऐतिहासिक भोपुर दरबार संरक्षणको अभावमा अलपत्र परेको छ । केही वर्ष अघिसम्म नेपाली सेनाले प्रयोग गर्दै आएको यो दरबारबाट सेनाको ब्यारेक नयाँ भवनमा सरेपछि दरबार अलपत्र परेको हो । 

बझाङको ऐतिहासिक धरोहर एवम् पर्यटकीय स्थलको रुपमा रहेको दरबार बेवारिसेजस्तै बन्नेपछि स्थानीयले यसको संरक्षणप्रति चिन्ता व्यक्त गर्न थालेका छन् । 

वि.स. १९९० सालमा  बझाङी राजा देबी जंग बहादुर सिंहले भारतको कलकत्ताबाट इन्जिनियर ल्याएर भोपुर दरबार निर्माण गर्नुभएको थियो । याे दरबार ऐतिहासिक र भुकम्प प्रतिरोधी भएको चैनपुका स्थानीय विष्णुभक्त जोशी (शास्त्री)ले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वि.सं. १९९० सालमा निर्माण सुरु गरी १९९६ सालमा निर्माण सम्पन्न भएको थियो ।’

अहिले जिर्ण अवस्थामा रहेको यस दरबारको तत्काल जिर्णाेद्धार नगरिए यसको अस्तित्व नै संकटमा पर्न सक्ने उहाँले बताउनुभयो ।

वि.सं. २०५८ सालमा सुरक्षाको कारण देखाउँदै सेनाको ब्यारेक हेमन्तवाडा भन्ने ठाउँमा सरेपछि दरबार बेवारिसे बनेको थियो । सशस्त्र द्वन्द्वका बेला वि.सं. २०६० सालमा तत्कालीन विद्रोही माओवादीले दरबारमा आगजनीसमेत गरेका थिए । तर स्थानीयले आगो निभाएका कारण एउटा कोठा बाहेक दरबारमा बढी क्षति भने हुन पाएन ।

आगलागीबाट क्षति भएको भाग अहिले पनि त्यही अवस्थामा छ । दरबारको संरक्षणमा सरोकारवाला निकायले चासो नदिँदा यसको अस्तित्व दिनप्रतिदिन घट्दै गएको छ भने दरबार जीर्ण बन्दै गएको छ । 

दरबारका भित्ताहरुमा चिरा पर्न थालिसकेको छ भने छान समेत चुहिने अवस्थामा पुगेको छ ।  दरबारभित्र जाने खुड्किला उप्केका र भित्रको तलाहरुमा प्वालसमेत परिसकेका छन् । 

ऐतिहासिक पुरातात्विक वास्तुकलाको प्रयोग गरिएकोे यस दरबारलाई पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । वि.सं.२०६३ सालमा शान्ति सम्झौता भएपछि नेपाली सेनाको एउटा टुकडी फेरि भोपुरमा बस्न थालेको छ । दरबार जीर्ण भैसकेका कारण त्यहाँ बस्न नमिल्ने भएपछि सेना नयाँ भवनमा बसेका छन् भने दरबार अलपत्र परेकाे छ ।

यसको मर्मत गर्नुपर्ने स्थानीयहरुको माग छ । भोपुरका रमेश केसीले भन्नुभयो, ‘दरबार भत्किनै लागेको छ, यसलाई मर्मत-सम्भार गर्न स्थानीय तहले ध्यान दिन एकदमै आवश्यक छ ।’

बाहिरी जिल्लाबाट बझाङ आउनेहरुले समेत दरबारको संरक्षण नभएको प्रति चिन्ता व्यक्त गर्ने गरेका छन् ।  बेलैमा यस्ता सम्पदाको संरक्षण र प्रवर्द्धन हुन नसके पछुताउनुको विकल्प नहुने  स्थानीय बासिन्दा गुनासाे गर्छन् ।  यसको जिर्णाेद्धार हुन सके जिल्लाको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने उनीहरुको भनाइ छ । 

दरबारको जिर्णाेद्धार गरेर बझाङको परम्परागत जीवनशैली र संस्कृतीहरु झल्काउने संग्राहालयको रुपमा विकास गरिनुपर्ने त्यहाँका बासिन्दाको माग छ । बझाङको परम्परागत भेषभुषा, कला संस्कृति समेत लोप हुँदै जान थालेको छ ।  

पर्यटन सूचना समूह बझाङका अध्यक्ष निलगगन रोशन सिंहका अनुसार दरबारको पनि संरक्षण हुने र कला संस्कृति पनि बचाउने हिसाबले संग्राहलयको रुपमा विकास गर्न सके राम्रो हुने थियो ।

यस्तै संग्राहालय निर्माण हुन सके भोपुर दरबार राम्रो पर्यटकीय स्थलको रुपमा स्थापित हुने उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया