वैदेशिक रोजगारीमा जानुअघि १८ घण्टे अभिमुखीकरण अनिवार्य गरिँदै, कक्षामा बसे नबसेको सफ्टवेयरबाटै हेरिने

 बैशाख १२, २०७६ बिहिबार १३:४५:३२ | मोहन पौडेल

काठमाण्डौ – वैदेशिक रोजगारीमा जाने कामदारले अब अनिवार्य रुपमा १८ घण्टाको अभिमुखीकरण लिनुपर्ने गरी पाठ्यक्रम परिमार्जन हुने भएको छ । 

अहिले वैदेशिक रोजगारीमा जाने महिलाका लागि ११ घण्टा र पुरुषका लागि १० घण्टाको अभिमुखीकरण लिनुपर्ने व्यवस्था रहेकोमा अब पाठ्यक्रम परिमार्जन गरेर महिला पुरुष दुवैका लागि १८ घण्टाको अभिमुखीकरण लिनुपर्ने व्यवस्था गर्न लागिएको हो । 

यसका लागि वैदेशिक रोजगार बोर्डले पाठ्यक्रममा परिमार्जन गरेको छ । परिमार्जित पाठ्यक्रम बोर्डको बैठकबाट पारित भएपछि लागू हुनेछ । केही समयअघि तयार भएको परिमार्जित पाठ्यक्रममा वैशाख महिनाभित्रमा बोर्ड बैठक बसेर पारित गर्ने तयारी रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

यस कारण आवश्यक पर्‍यो परिमार्जन 

यसअघिको पाठ्यक्रम अनुसार १० घण्टा दिइने अभिमुखीकरणको समय छोटो हुँदा कामदारका लागि प्रभावकारी नभएपछि बोर्डले पाठ्यक्रम परिमार्जन गर्न लागेको हो । 

अभिमुखीकरणमा वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सम्बन्धित देशको नियम कानुन, काम गर्दा अपनाउनुपर्ने सावधानी र त्यसका लागि चाहिने सीपका बारेमा जानकारी दिइने गरिन्छ । यसका लागि १० घण्टाको समय अपुग हुने भएकाले पाठ्यक्रम परिमार्जन गर्न लागिएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताउनुभयो । 

यसअघि वैदेशिक रोजगारीमा जाने व्यक्ति अभिमुखीकरणमा नबसी नक्कली प्रमाणपत्र बनाउने, कक्षामा बसे नबसेको टुङ्गो नहुने भएपछि त्यसलाई समाधान गर्न बोर्डले त्यसको पनि विकल्प खोजेको छ । 

विभागको सफ्टवेयरबाटै अनुगमन हुने 

कक्षामा नबस्ने, प्रमाणपत्र मात्रै लिने, नक्कली प्रमाणपत्र बनाउने जस्ता विकृति अन्त्य गर्न सरकारले वैदेशिक रोजगारीमा जाने व्यक्ति अभिमुखीकरण कक्षामा बसे नबसेको सफ्टवेयरबाटै हेर्ने प्रणालीको विकास गरेको छ । 

व्यक्ति अभिमुखीकरणका लागि गएपछि उसको विद्युतीय हाजिरी गरिन्छ । यो हाजिरी विभागले विकास गरेको सफ्टवेयर प्रणालीमा रहने भएकाले व्यक्ति अभिमुखीकरण कक्षामा बसे नबसेको त्यसैबाट हेर्न सकिने वैदेशिक रोजगार विभागले जनाएको छ ।

देश अनुसार अभिमुखीकरणको विषय फरक बनाउन सुझाव 

अहिले वैदेशिक रोजगारीका जानेहरुलाई एकै खालको अभिमुखीकरण गर्ने गरिन्छ । तर देश अनुसारको अवस्था, त्यहाँको कानुन तथा नीति नियम फरक हुने भएकाले त्यहाँ पुगेपछि समस्यामा पर्नेहरुको अवस्था हेरेर बोर्डलाई देश अनुसारको फरक पाठ्यक्रम बनाउन पनि सुझाव दिइएको छ । 

केही समयअघि बोर्डमा भएको एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा जानुअघि दिइने अभिमुखीकरणलाई प्रभावकारी बनाउन कदम चाल्न सुझाव दिनुभएको थियो । 

उहाँले अभिमुखीकरण कामदारका लागि लाभदायक बनाउन देश अनुसारको छुट्टा छुट्टै बनाउनुपर्ने बताउनुभएको थियो । बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले अभिमुखीकरण प्रभावकारी बनाउन अहिले समय बढाउने र देश अनुसारको फरक फरक पाठ्यक्रम तयार पार्ने विषयमा बोर्डले सोचिरहेको बताउनुभएको छ । 


 

अन्तिम अपडेट: चैत ११, २०८०

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया